
गोरखाका कालोपत्रे सडकमा कच्चीको भाडा
आरुघाट सडक र गोरखा–भच्चेक सडक कालोपत्रे भईसक्दा पनि यातायात व्यवसायीले भने कच्ची कै भाडा असुलिरहेका छन् । ग्रामिण भेगमा यातायात संचालन गर्दै आएका व्यवसायीले सडक कालोपत्रे र ग्राबेल सठकमा कच्ची सरह भाडा लिँदा प्रशासन र प्रहरी भने पत्तो नपाएझैँ बसिरहेको गुनसो यात्रुहरुको छ ।
गोरखा सदरमुकामदेखि आरुघाट बजार सम्म करिब ४२ किलोमिटर सडकको भाडा दुई सय रुपैयाँ छ ।
यातायात व्यवसायीले यो भाडा लिन थालेको २०७४ असोजदेखि हो । चार घण्टा लाग्ने आरुघाट सडकको बस यात्रा दुई घण्टामा झरेको छ । फिनाम–झिगटे हुँदै बगुवा सम्म सडक कालोपत्रे छ । तान्द्राङको बिच भागमा पनि कालोपत्रे गरिएको छ । करिब २० किलोमिटर सडक कालोपत्रे भएको छ । बाँकी सडक कालोपत्रेका लागि ठिक्का पारिएजस्तो ग्राबेल गरिएको छ । तर भाडा भने दुई वर्षअघि कै दुई सय छ ।
‘भिमसेन थापा गाउँपालिका बगुवाका स्थानीय कुविर पौडैलले भने ‘सडक पिच भयो, तर खै भाडा घटेन, हामीले ५० प्रतिशत धेरै भाडा तिर्नुपरेको छ ।’ यातायात मजदुर र यात्रुबिच पाँच÷१० रुपैयाँ भाडामा पनि बिवाद हुने गरेको छ । मजदुरहरुले भाडादर नयाँ निर्धारण नभएको भन्दै कच्ची सडककै भाडा लिईरहेका छन् । स्थानीय ठाकुर भट्टले छ महिना पहिले र अहिले सडकको अवस्था फेरिएको बताउँदै भने ‘घ्याम्पेशाल पुग्न तीन घण्टा लाग्थ्यो, अहिले एक घण्टामा पुगिन्छ भाडा भने तीन घण्टाकै तिर्नुपर्छ ।’
गोरखा–आरुघाट–आर्खेतको ४६ किलोमिटरको भाडा दुई सय ५५ तोकिएको थियो । आरुघाट सम्म दुई सय लिने व्यवसायीले आरुघाट देखि आर्खेत र सोती सम्म एक सय ५० रुपैयाँ सम्म भाडा लिने गरेका छन् । यस अघि निर्धारण भएको भाडा आरुघाट माथि भने लागु भएको छैन ।
गोरखाको अधिकासं ग्रामिण रुटमा यातायात संचालन गर्दै आएको दरौँदी यातायात प्रालीले गोरखा(भच्चेक रुटमा पनि भाडा घटाएको छैन । ५८ किलोमिटर उक्त सडक खण्डको बाहूकिलो हुँदै चोरकाटे सम्म कालोपत्रे यस अघि नै भईसकेको छ । अहिले प्रतिब्यक्ती दुई सय ५५ रुपैयाँ भाडा व्यवसायीले लिँदै आएका छन् । चोरकाटे देखि चित्रेपोखरी सम्मको करिब १५किलोमिटर सडक बाहेक त्यसमाथिको खण्ड पनि कालोपत्रे भएको छ । धारापानी सम्म पिच सडक छ । त्यहाँदेखि भच्चेक सम्म कालोपत्रे गर्न ठिक्क परिएको ग्राबेल सडक छ । पाँच घण्टा लाग्ने भच्चेक सडकको यात्रा तीन घण्टामा झरेको छ । दिनभरी गाडी फसेर हैरान हुने व्यवसायीले पहिले जस्तो दुःख झेल्नुपरेको छैन । तर उनीहरुले भाडा कच्ची सडककै लिएर यात्रुलाई ठगिरहेका छन् ।
प्रालीले अहिले ग्रामिण रुटमा एक सय ४६ यात्रुबाहक बस संचालन गरिरहेको छ । दैनिक ७० वटा बस ग्रामिण भेगबाट चल्छन् । यात्रुबाहक बसले मात्रै होईन मालबहाक सवारी साधन, बोलेरो जिप, ट्रक, ट्याक्टर ट्रिपर लगायतका साधनले पनि कच्ची सडकै भाडा असुलेका छन् । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सडक कालोपत्रे भएपछि कच्ची सडकको भाडा लिनु ठिक नभएको बताए । ‘सर्वसाधारणलाई केही सहज, फाईदा हुनुपर्छ, सडक बनेपछि भाडापनि समायोजना हुनुपर्छ, म अध्ययन अनुगमन गर्छु ।’




