
यसबर्षको उत्कृष्ठ करदाता सम्मान गोरखाका मास्केलाई
सत्यसाई हार्डवेयर सेन्टर गोरखाका सञ्चालक इश्वरकाजी मास्केलाई आन्तरिक राजस्व कार्यालय, दमौलीले यसबर्षको उत्कृष्ठ करदाता घोषणा गरी सम्मान गरेको छ । शनिबार सम्पन्न आठौं कर सप्ताहको समापन कार्यक्रममा मास्केलाई यसबर्षको उत्कृष्ठ करदाता सम्मान प्रदान गरेको हो ।
दमौलीमा शनिबार आयोजित कार्यक्रममा गोरखाका मास्केसहित तनहूँको रोयल सहकारी संस्था लिमिटेड र लम्जुङको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालाई उत्कृष्ठ करदाता सम्मान प्रदान गरेको हो ।
आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यक्षेत्रभित्र पर्ने गोरखा, तनहूँ, लम्जुङ र मनाङ जिल्लाका सबैभन्दा धेरै आयकर तिर्ने एकेक व्यापारिक प्रतिष्ठानलाई सम्मान गर्ने कार्यक्रम अनुसार सम्मान गरिएको कार्यालय प्रमुख सेढाईँले जानकारी दिए । कार्यालयले तय गरेको प्रवधानभित्र मनाङ जिल्लामा भने कोही पनि छनौटमा नपरेको सेढाईँले जानकारी दिए ।
गोरखाका मास्केले बर्षभरि कारोबार गरेर कमाएको नाफाको आयकरबापत २९ लाख रुपैयाँ तिरेका कार्यालय प्रमुख सेढाईँले जानकारी दिए ।
सोही कार्यालयका नायव सुब्बा विष्णुप्रसाद पौडेललाई पनि उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।
मास्के गोरखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, गोरखा विकास तथा सञ्चार केन्द्रका अध्यक्षसमेत हुन् ।




