
गोरखा नगरपालिकामा आजदेखि नगरबस, सिडिओ भने ‘नेगेटिभ’
गोरखा नगरपालिका भित्र आजदेखि नगरबस संचालनमा आउने भएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि बीच सम्झौता भएर नगरपालिका भित्रका ११ रुटमा बिहिवार बिहान १० बजेदेखि नगरबस संचालनमा आउन लागेको हो ।
घलाङ–नारेश्वर हुँदै नगरपालिकाको कार्यालय, छापथोकबाट नगरपालिका, नगरपालिकाबाट फिनाम ताप्ले हुँदै छापथोक, छेपेटारबाट नगरपालिका कार्यालयमा रुट निर्धारण गरिएको छ । यस्तै देउरालीबाट नगरपालिका कार्यालय, ढुङ्गागाढे आहाले कट्टेलडाँडा हुँदै नगरपालिका कार्यालयसम्म रुट तोकिएको छ । यी रुटबाट बिहान ८ देखि नौ बजे भित्रमा गाडी छुटिसक्नेछ भने नगरपालिकाबाट ४ बजेदेखि ४ः३० सम्म फर्किनेछ । बाँकी पाँचवटा रुटमा भने घुम्ति सेवा चलिरहनेछ ।
गोरखकाली दरबार, सतिपिपल पस्लाङ रोहोटेपानी हुँदै नगरपालिका कार्यालयसम्म, पिपलथोक, पन्थेश्वाँरा, रानीबन हुँदै नगरपालिका कार्यालय, गोरखा बजार निरन्तर परिक्रमा हुनेछ । मान्द्रेढुङ्गा गोरखा क्याम्पस खिरेपानी हुँदै नगरपालिका कार्यालय र नगरपालिकाबाट बसपार्क नारेश्वर मेलबिसौनी हुँदै डेरागाउँ फिनाम हुँदै नगरपालिका घुम्ती बस पनि चल्नेछ ।
यी रुटमा भाडा पनि निर्धारण गरिएको छ । समितिले अहिले लिईरहेको रुट पर्नेठाउँहरुमा भाडा घटाएर लिने बताएको छ ।
यात्रुले गोरखा बजार क्षेत्रमा तीन किलोमिटरभित्र सवारी चढेपछि १५ रुपैयाँले तिरे पुग्छ । नगरपालि कासँग भएको सम्झौतामा नेपाल सरकारले कायम गरे भन्दा धेरै भाडा लिन नपाउने उल्लेख छ ।
समितिले गोरखाबाट(फिनाम सम्म ३५ रुपैयाँ, गोरखाबाट कोखे आहाले ५०, गोरखाबाट डेरागाउँ ४०, झिंगटे ७०, गोरखाबाट नारेश्वर ४०, गोरखाबाट देउराली ५५, गोरखाबाट आँपचौर ६०, गोरखाबाट पढेँनी चौतारा ६५, होलसिंङ ७० गोरखाबाट छेवेटार ६० र गोरखाबाट देउराली १३० कायम गरेको छ ।
अहिले सवारी चलिरहेको रुट पर्ने ठाउँमा लिइँदै आएको भन्दा पाँच देखि १० रुपैयाँसम्म कम गरिएको पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रालिका क्षेत्रीय सदस्य बिपिनचन्द्र ढकालले बताए ।
सिडिओ भने ‘नेगेटिभ’ :
गोरखा नगरपालिका भित्र आजै देखि नगरबस संचालन गर्ने विषयमा गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने भने ‘नेगेटिभ’ देखिएका छन् । नगरपालिकाले नगरक्षेत्रभित्र निर्धारण गरेको रुटको भाडादर बैज्ञानिक भए नभएको बारे छलफल गर्न नगरपालिकाले बुधवार बोलाएको बैठकमा सरिक भएका उनले संघीय सरकारको ऐननियम र कानुन, यातायात ब्यवस्था संम्बन्धी ऐन अनुसार अझै गृहकार्य गरेर समन्वयमा अघि बढ्नुपर्ने धारणा राखे । छलफलका क्रममा उनले पटक पटक आफु नगरबस संचालन गर्न बाधक नभएको प्रष्टिकरण दिएपनि कानुनी अड्चन आउन सक्ने औँल्याए । ‘म नगरबसको बिरोधी होईन, यसलाई निरन्तर अगाडि बढाउनुपर्छ, कतैबाट अवरोध आउनु हुँदैन भन्ने हो ।’ रुट तोक्ने, भाडा तोक्ने अधिकारी जिल्ला प्रशासनको भएकोतर्फ इङ्गित गर्दै उनले निर्णय गर्न नभई छलफलका लागि आफु बैठकमा आएको तर्क गरे । माथिल्लो निकायमा परामर्श गर्नुपर्ने बताउँदै उनी निर्णयमा हस्ताक्षर नगरी फर्किए ।
शक्तिचोकदेखि गोरखा क्याम्पस सम्म जाने ट्याक्सीले तीन सय भाडा लिएर यात्रु ठगेको प्रशंग जोड्दै प्रजिअ लामिछानेले नगरबस आवश्यक रहेको तर्क गरे । तर हरेक पटक उनले आवश्यकता सँगै समस्या पनि देखाए । यातायात कार्यालयमा रुट पर्मिट र भाडाका लागि पठाउनुपर्ने, कानुन बाझिन नहुने विषयमा उनले सचेत गरा उँदै बिहिबारदेखि चल्ने विषयमा पुनर्बिचार गर्न घुमाउरो शैली प्रयोग गरे । एउटा समिति बनाएर छलफलको रुपमा अघि बढ्नु पर्नेमा उनको जोड थियो । गोरखा सदरमुकामको कच्ची सडक पक्की भएर लामो समयदेखि भाडा समायोजनामा नभएको बारे बारम्बार गुनासो आउँदा चासो नदिएका प्रजिअ नगरबसका बारेमा भने निकै चनाखो देखिन्थे । गोरखाभरि अहिले चलिरहेका यात्रुबाहक सवारीको रुट पर्मिट नभएको, ट्याक्सीले यात्रु ठगिरहेको आफैँ बताउने प्रजिअले कारवाही गर्न भनेका सकेका छैनन् । गोरखामा यातायात सञ्चालन गर्दै आएको दरौँदी यातायात सेवा प्रालिले नगरबस अवरोध गर्न सक्ने, जिल्लाको शान्ति सुरक्षामा खलल पुग्न सक्ने आशंकामा प्रजिअ रहेको सुरक्षा अधिकारी अनुमान गर्छन् ।
पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालिका क्षेत्रीय सदस्य विपिनचन्द्र ढकालले अहिले चलिरहेको रुटमा पर्मिट नचाहिने, ट्याक्सीको महँगो भाडादरबारे सिडिओले अनुगमन नगर्ने तर जनताको सेवा दिने गरी नगरबस संचालन गर्न खोज्दा कानुन देखाएर अड्काउन खोजिएको तर्क गरे । छलफलमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किशोरजंग थापाले जनतालाई सेवा दिने गरी सञ्चालन गर्न लागिएको नगरबस संचालन गर्दै कानुनी ऐन नियम पनि पालना गरेर अघि बढ्न सुझाब दिए । ‘नगरबस आवश्यक छ, बिहिवारदेखि सुरु गरौँ, स्थानीय तहले केही कानुन बनाउनु, निर्णय गर्न पर्ने भए त्यो पनि प्रक्रिया सुरु गरौँ ।’
गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले स्थानीय सरकार सञ्चालन ऐनले नगरक्षेत्र भित्रको रुट पर्मिट र भाडा नगरपालिकाले निर्धारण गरेर नगरबस चलाउन सक्ने बताए । ऐनमा प्रष्ट उल्लेख भएको बताउँदै उनले संघीय सरकारको प्रतिनिधिको काम स्थानीय र प्रदेश सरकारलाई पनि सघाउनु रहेकाले साथ दिन प्रशासनलाई अनुरोध गरे ।
देशका अन्य नगरपालिका, महानगरपालिका कार्यालयहरुले पनि यातायात सेवा सञ्चालन गरेकोे बताउँदै उनले नगरपालिकाको सबै वडा समेट्ने गरी नगरबस चल्ने बताए । ‘नगरबासीले सस्तोमा सहज सुविधा पाउन भन्ने उद्देश्यले नगरबस संचालन गर्न लागेका हौँ’ नगरप्रमुख राजनराज पन्तले भने ‘नगरपालिकाको कुनै स्वार्थ छैन, जनतालाई सेवा दिने सवालमा हामी जसरी पनि नगरबस चलाउँछौँ, ब्यवस्थित गछौँ ।’




