
गोरखाका ३३ विद्यालयद्वारा वार्षिक शैक्षिक तथ्याङ्क बुझाउन अटेरी
किरण लोहनी :
गोरखाका सात स्थानीय तहका ३३ विद्यालयले वार्षिक शैक्षिक तथ्याङ्क शिक्षा विकास तथा समन्वय इकाइमा उपलब्ध गराउन आनाकानी गरेका छन् । गत जेठ १० गतेसम्ममा उपलब्ध गराउनु पर्ने भएपनि ती विद्यालयले अझै तथ्याङ्क उपलब्ध नगराएका इकाइले जनाएको छ ।
शिक्षा मन्त्रालयले जिल्लाभरका विद्यालयहरुको तथ्याङ्क अद्यावधिक गर्ने जिम्मा शिक्षा विकास तथा समन्वय इकाईलाई दिएको छ । तोकिएको अवधी सकिएको पाँच महिना बितिसक्दा पनि विद्यालयहरुले अझै तथ्याङ्क उपलब्ध नगराएका इकाईका अधिकृत सुवास आचार्यले बताए ।
‘विवरण उपलब्ध नगराउनेमा सबैभन्दा धेरै चुमनुब्री गाऊँपालिकाका ११ विद्यालय छन्, पालुङटार नगरपालिकाका ७, सिरानचोक गाउँपालिकाका ६, शहीद लखन गाउँपालिकाका ५, बारपाक सुलिकोटका २ र भीमसेन थापा तथा गण्डकी गाउँपालिकाका १÷१ विद्यालयको विवरण आउन सकेको छैन’, आचार्यले भने ।
शिक्षा मन्त्रालयले देशभरका सबै विद्यालयको विवरण एकिकृत शैक्षिक ब्यवस्थापन सूचना प्रणालीमा समावेश गर्दै आएको छ । तर गोरखाबाट हालसम्म चारसय ३३ विद्यालयको विवरण मात्रै उक्त प्रणालीमा समावेश भएको छ ।
गुम्बा, गुरुकुल, मदरसा लगायत धार्मिक र बालविकास मात्रै चलेका विद्यालयको विवरण पनि उक्त प्रणालीमा राख्ने गरिएको छ । मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईले तथ्याङ्क प्रमाणित गरेपछि मात्रै सशर्त अनुदानको रकम दिने ब्यवस्था गरेको छ । तर स्थानीय तहले तथ्याङ्क नबुझाउने विद्यालयलाई पनि सहजै अनुदान रकम दिने भएकाले पनि तथ्याङ्क सङ्कलनमा कठिनाई भएको इकाईका अधिकृत आचार्यले बताए ।
शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गतको कार्यक्रम कार्यान्वयन निर्देशिकामा विवरण उपलब्ध नगराउने विद्यालयले पाउने अनुदान रोक्ने भनेको छ । तर स्थानीय तहहरुले अनुदानमा रोक लगाएका छैनन् । ‘एकीकृत शैक्षिक ब्यवस्थापन सूचना प्रणालीमा विद्यालयहरुले झण्डै ४० वटा विवरण भर्नुपर्ने हुन्छ’, उनले भने, ‘एउटा विद्यार्थीको मात्रै २७ वटा सूचना उक्त प्रणालीमा समावेश हुने भएकाले छात्रवृत्ति वितरण लगायतलाई पारदर्शी बनाउन सकिन्छ ।’ यस्तै शैक्षिक योजना निर्माण र कार्यान्वयनमा पनि तथ्याङ्कलाई आधार मान्ने गरिन्छ ।
देशभरका विद्यालयको भौतिक, शैक्षिक र आर्थिक अवस्थाबारेको सूचना लिन सहज हुने भएकाले विद्यालयको वास्तविक तथ्याङ्क संकलनलाई महत्वपूर्ण रुपमा लिनुपर्ने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । धेरैजसो पालिकाले शिक्षा शाखामा कर्मचारीको अभाव भएका कारण पनि समयमै तथ्याङ्क उपलब्ध गराउन नसकेको बताएका छन् । ‘सामुदायिक विद्यालयहरुको तथ्याङ्क गैसकेको छ, संस्थागतको अलि समस्या भएको हो’ पालुङटार नगरपालिका शिक्षा शाखाका बाबुराम काराखेतीले भने, ‘शिक्षा शाखामा पर्याप्त कर्मचारी छैनौं, त्यसले पनि समयमै विवरण पठाउन समस्या परेको हो ।’




