
सिरानचोकमा १० रोपनीमा लगाइएको पायोनियर जातको धानमा भुसमात्रै
धेरै फल्ने आशले स्थानीय जात छाडेर हाईब्रिड पायोनियर जातको धान रोपेका गोरखाका किसान धानमा बाला नलागेपछि चिन्तित छन् । उक्त जातको धान लगाएको अधिकासं ठाउँमा बाला नलाग्ने समस्या देखिएको गुनासो किसान हरुले गरेका छन् ।
१० रोपनी खेतमा लगाएको धानमा दानै नलागेको सिरानचोक गाउँपालिका ६ खोपिस्वाँराका खुनबहादुर गुरुङले जानकारी दिए । गत वर्ष राधा शंकर जातको धान लगाएर २५ मुरी भित्र्याएका उनले यस वर्ष काट्ने बेला भएको धानमा दाना नलागेको बताए ।
‘धेरै फल्छ भनेर प्रतिकिलो पाँचसय रुपैयाँ तिरेर सात किलो बिउ किनेर रोपेँ, अहिले बिउ जति पनि उत्पादन छैन’ उनले भने । उत्पादन धेरै लिन लगाएको हाइब्रीड धानले खर्च ओत्नुको सट्टा उल्टो घाटा परेपछि उनी गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा गुनासो गर्न पुगेका छन् । उनले छेवेटार स्थित एग्रोभेटबाट खरिद गरेर उक्त बिउ लगाएका थिए ।
किसानहरुले सिरानचोक वडा नम्बर ५ मा नमुनाका लागि लगाएको सोही जातको धानमा पनि बाला नलागेको गुनासो आएको गाउँपालिका कृषि शाखा प्रमुख शुसिला पाण्डेले बताईन । ‘धान फलेन भन्ने गुनासो आएको छ, प्राविधिकहरुले फिल्डमा गएर हेर्दै हुनुहुन्छ’ उनले भनिन् ‘किसानले बिउ बुढिएपछि रोप्ने, रोप्न ढिलो गर्ने कारणले पनि हावापानी मेल नखाएको हुन सक्छ ।’ हाइब्रीड जातको धानलाई उचित समय मिलाउनुपर्ने उनले बताइन । चिसो हावापानी भएकाले पनि मेला नखाएको हुन सक्ने बताउँदै उनले थप पुष्टी गर्न ल्याब परीक्षण गर्नुपर्ने उनको भनाइ छ । कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले धान नफलेको बारे गुनासो आएको र आधिकारिक जानकारी आएपछि फिल्ड निरीक्षण गरेर नमुना संकलनका लागि चितवन पठाउने बताइन् ।




