
गोरखामा ३७८ शिक्षक भित्रिँदा २७९ शिक्षकको जागिर चट् हुँदै
गोरखामा तीनसय ७८ जना प्राबि तहका शिक्षकले स्थायी नियुक्ति लिएर विद्यालय भित्रिँदा बर्षौँदेखि अस्थायी सेवा गरिरहेका दुईसय ७९ जना शिक्षकले हात धुने भएका छन् ।
शिक्षा सेवा आयोगले लिएको शिक्षक छनौट परीक्षामा नाम निकालेका तीनसय ७८ जना स्थायी शिक्षकको पोस्टिङको तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेलले जानकारी दिए । मंसीरभित्र जिल्लाभरि प्राबि तहका नयाँ स्थायी शिक्षक हाजिर भएपछि कार्यरत अस्थायी शिक्षक बिस्थापित हुने भएका हुन् ।
‘कात्तिकभित्र विद्यालय छनौट गर्नका लागि फाराम भर्न सूचना गरेका छौं’, पौडेलले भने, ‘मंसीरको पहिलो सातासम्म हाम्रो आन्तरिक गृहकार्य गर्न समय लाग्नेछ । त्यसपछि हामी पोस्टिङ गरेर नगर पालिका, गाउँपालिकामा पठाउँछौं ।’ नगरपालिका तथा गाउँपालिकाले विद्यालय छनौट गराई नियुक्ति दिने उनले बताए ।
स्रोतका अनुसार गोरखा नगरपालिकाभित्र प्राबि तहमा कार्यरत २१ जना अस्थायी शिक्षकको जागिर जान सक्ने बताइएको छ । त्यस्तै पालुङ्टार नगरपालिकाभित्र कार्यरत ३० जनाको, सिरानचोक गाउँपालिका भित्र कार्यरत ४० जनाको जागिर जाने भएको छ । त्यस्तै अजीरकोट गाउँपालिकाका २० जनाको, बारपाक सुलीकोट गाउँपालिकाका २७ जनाको जागिर जाने स्रोतले जनाएको छ ।
त्यस्तै धार्चे गाउँपालिकामा कार्यरत १५ जना, चुमनुब्री गाउँपालिकाका कार्यरत १८ जना शिक्षकको जागिर जाने भएको छ । आरुघाट गाउँपालिकामा कार्यरत २३ जना प्राबि तहका शिक्षक, र भीमसेन थापा गाउँपालिकामा कार्यरत २० जना प्रावि तहका अस्थायी शिक्षकको जागिर जाने बताइएको छ ।
त्यस्तै शहीद लखन गाउँपालिकामा कार्यरत ४३ जना र गण्डकी गाउँपालिकाभित्र कार्यरत २२ जना प्राबि तहका अस्थायी शिक्षकको जागिर जाने बताइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार मंसीर एक गतेबाट लागु हुने गरी कोही स्थायी शिक्षकले राजिनामा दिएर निवृत्त भए भने ती ठाउँमा पनि नयाँ स्थायी शिक्षक पोष्टिङ हुने भएकाले जागिर जाने शिक्षकको संख्या केही घट्न सक्नेछ ।
प्राबि तहमा अस्थायी रुपमा कार्यरत ५३ जनाले स्थायीमा नाम निकालेकाले उनीहरुको जागिर स्वत स्थायी हुने भएको छ । त्यस्तै यसअघि नै बिभिन्न कारण रिक्त रहेको ५९ वटा दरबन्दी रहेको कार्यालयले जनाएको छ ।
फाइल फोटो




