| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सुनका गहना चोर्ने तीन चोर पक्राउ

गोरखा सदरमुकामको एक घरबाट सुनका गहना लुटपाट गर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । भीमसेन थापा गाउँपालिका ४ बगुवा घर भई हाल गोरखा नगरपालिका ८ धनबासे बस्ने ध्रुवकुमार भट्टको घरबाट बिभिन्न गहना चोरेर फरार रहेका तीन जना चोर पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

गहना चोर्ने बारपाक सुलीकोट गाउँपालिका ८ घर भई चोरी पेशा मा संलग्न बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका ५ का राजकुमार नेपाली र सोही ठाउँका राजकुमार मग्रातीलाई पक्राउ गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनीहरु तीनै जना यसअघि पनि बिभिन्न चोरी कार्यमा संलग्न रहेको रेकर्ड प्रहरीसंग रहेको उनले बताए ।
उनीहरुको साथबाट चोरी भएका गहना बरामद गरिएको छ ।

सुन जस्तो देखिने धातुबाट बनेको रानीहार, औंठी, शिरबन्दी, तिलहरी र चन्द्रमा बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै झुम्काको स्वरुप परिबर्तन गरी बनाइएको मुन्द्री र फुली चाँदी जस्तो देखिने धातुबाट बनेको ब्रासलेट र सिक्री पनि बराम गरिएको एसपी अधिकारीले जानकारी दिए ।

बरामद भएका सबै गहना अदालती प्रक्रिया पूरा गरी गहनाधनीलाई हस्तान्तरण गर्ने प्रहरीले जनाएको छ ।

बिभिन्न मुद्दा फैसला भएपछि फरार रहेका दुई जनालाई पनि पक्राउ गरी जरिबाना भुक्तानीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्