| आइतवार, कार्तिक २२, २०८३

तीनवटा स्थानीय तहको केन्द्र आसपास नयाँ प्रहरी चौकी थपिँदै

गोरखाको तीनवटा स्थानीय तहको केन्द्र आसपास प्रहरी चौकी स्थापना हुने भएको छ । ११ वटा स्थानीय तह मध्ये चालु आर्थिकवर्ष तीनवटा स्थानीय तह केन्द्रित प्रहरी चौकी बन्ने भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शहिदलखन गाउँपालिकाको घैरुङ, गण्डकी गाउँपालिकाको भुम्लिचोक र सिरानचोक गाउँपालिकाको केन्द्रमा रहने गरी चौकी निर्माण हुने भएको हो । गाउँपालिकाले जग्गा उपलब्ध गराउने भएपछि ती चौकीका लागि १५/१५ जनाको दरबन्दी स्विकृत भएर आईसकेको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

छ सय ९७ जना प्रहरीको दरबन्दी रहेको गोरखामा हाल ३६ वटा स्थायी र छ वटा अस्थायी प्रहरी युनिट छ । यी मध्ये १० वटा अहिले पनि भाडाको घरमा संचालित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यी युनिटको मासिक ५५ हजार भन्दा बढि भाडा तिर्नुपर्छ ।

छेकम्पारमा प्रहरी बस्ने घर निकै पुरानो छ । ढुङ्गाको थुप्रोबाट बनेको उक्त घरमा एउटा मात्रै कोठा छ । एकै ठाउँमा भान्सा र सुत्ने बस्ने, प्रहरीले हतियार राख्ने, प्रशासन चलाउने गर्छन । सो चौकीमा सात जना छन् । ‘खोर जस्तो एकै ठाउँमा सबैथोक ब्यवस्थापन गर्न समस्या भयो’, चौकीका असई कृष्णबहादुर सिम्खडाले भने, ‘उच्च हिमाली भेग भएकाले अत्याधिक चिसो हुने गर्छ । चिसोबाट आफु जोगिएर जनताको सुरक्षा गर्न कठिन छ ।’

प्रहरी चौकी सिर्दिबासले मासिक १३ हजार पाँच सय रुपैयाँ भाडा तिरेर बस्दै आएको छ । मनास्लु पदमार्गको मुख्य बाटो छेउको घर भएकाले भाडा महँगो छ । आफ्नै चौकी नहुँदा र अधिकासं ठाउँमा जग्गा नभएकाले भाडा तिरेर बस्नु परेको जिल्ला प्रहरी काार्यलयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । द्वन्द्वकालमा बिस्थापित भएको चुमनुब्री गाउँपालिकाको ल्हो, बिही, चुम्चेत चौकी अहिले सम्म पुनस्थापना हुन सकेको छैन । पुन निर्माण सकिएका चौकी स्तरीय भवनमा छन् भने कतिपय पुन निर्माणको क्रममा हुँदा अस्थायी टहरामा संचालित छन् ।

प्रतिक्रिया दिनुहोस्