| आइतवार, कार्तिक २२, २०८३

अमेरिका मोहले राहदानी बनाउनेको भिड

अमेरिकी सरकारले डिभी भर्न राहदानी अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय गोरखामा राहदानीका लागि सिफारिस लिनेको भिड बढेको छ ।

असोज १५ गते सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेसँगै जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि सिफारिस लिनेको भिड बढेको हो ।

प्रशासनको राहदानी फाँटका खरिदार कमल पौडेलका अनुसार चालु आर्थिक बर्षको यो अबधिसम्म नौ सय एक जनाले राहदानीका लागि द्रुत सिफारिस लिएका छन् । यो मध्ये डिभीको आबेदन खुलेयता हालसम्म चार सय ३७ जनाले द्रुत सिफारिस लिएको प्रशासनको तथ्यांक छ ।

डिभीको आबेदन भर्नकै लागि राहदानी बनाउन आउने सेवाग्राही धेरै पाईएको प्रशासनका कर्मचारीहरुले बताएका छन् ।
द्रुत सिफारिस लिनेको संख्या सामान्य अबस्थामा भन्दा बढेको छ । सामान्य अबस्थामा राहदानी बनाउन ४÷५ जना आएपनि अहिले दैनिक ४०÷५० जना आउने गरेका खरिदार पौडेलले जानकारी दिए ।

डिभी भर्न राहदानी नम्बर अनिवार्य चाहिने भएकाले दोब्बर दस्तुर तिरेर राहदानी बनाउनका लागि सिफारीस लिन आएको पालुङटार नगरपालिका २ का परशुराम न्यौपानेले बताए । जिल्ला प्रशासन कार्यालयबाट नियमित प्रक्रियामा राहदानी लिन एक महिना कुर्नुपर्ने भएकाले कार्यालयको सिफारीसका साथमा राहदानी विभागबाट दोब्बर दस्तुर तिरेर राहदानी बनाउने उनले बताए ।

डिभी भर्ने समय कात्तिक १९ गतेसम्म मात्रै छ । यसैले छिटो राहदानी बनाउन आएको न्यौपानेकी श्रीमती जमुना लामिछानेले बताईन् ।

दोब्बर शुल्क अर्थात् १० हजार रुपैयाँ राजस्व बुझाएर राहदानी विभागबाट तीन दिनमा नै राहदानी बनाउन सकिने ब्यबस्था छ । विभागले एक दिन, दुई दिन र तीन दिनमा उपलब्ध गराउने गरी राहदानी वितरण गर्दै आएको छ । एक दिनमा राहदानी लिन चाहनेहरुले १५ हजार, दुई दिनका लागि १२ हजार र तीन दिनका लागि १० हजार रुपैयाँ राजश्व तिर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्