
गोरखाका २२ हजार बालबालिकालाई भिटामिन ए खुवाईदै
गोरखाको सबै पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ ।
कार्यक्रम अन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार पाचँ सय ७३ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका १९ हजार सात सय ४ जना बालबालिकालाई जुकाको औषधि (अल्बान्डाजोल) खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
भिटामिन ए खाने बालबालिका गोरखा नगरपालिकामा धेरै र चुमनुब्री गाउँपालिकामा कम रहेका कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज खड्काले जानकारी दिए ।
गोरखा नगरपालिकामा चार हजार ३५ र चुमनुब्री गाउँपालिकामा आठ सय ४५ बालबालिका यो कार्यक्रममा आबद्ध हुनेछन् । ६ महिनादेखि दुई वर्ष्भित्रका बालबालिकालाई बालभिटा उपलब्ध गराईएको छ ।
त्यस्तै पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।
जनस्वास्थ्य निरिक्षक खड्काका अनुसार भिटामिन ए कार्यक्रमका लागि जिल्लामा ६ सय २४ केन्द्र स्थापना गरिएको छ भने त्यही संख्यामा स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
शनिवार भिटामिन ए खान छुटेका बालबालिकालाई आइतबार पनि भिटामिन ए खुवाईनेछ । बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ ।
खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने जनस्वास्थ्य निरिक्षक खड्काले बताए । बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्बान्डाजोल खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।




