| आइतवार, कार्तिक २२, २०८३

सर्वोच्चद्वारा पप्पुको पक्षमा आदेश, बुटार पुल बनाउन पुल निर्माणका लागि ‘पप्पु’लाई अन्तिम मौका

किरण लोहनी :

पाँच वर्षदेखि अलपत्र पृथ्वीराजमार्गको चुमखोला र गोरखाको मकैसिङको बुट्टार जोड्ने त्रिशुलीमाथिको पुल निर्माणका लागि ठेकेदार कम्पनी पप्पु कन्स्टूक्सनलाई अन्तिम मौका दिइने भएको छ ।

आगामी असार मसान्तसम्ममा निर्माण सक्ने गरी अन्तिम पटकका लागि म्याद थपको तयारी गरेको ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजना कार्यालयले जनाएको छ । यसअघि सो पुलको २०७१ साल असार २९ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त पुल निर्माण २०७४ सालको पुष २८ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । तर हालसम्म पुल निर्माणको करीव १० प्रतिशत मात्रै काम सकिएको सडक कार्यालयका प्रमुख रविन्द्रलाल दासले बताए ।

ठेकेदारले विभिन्न बहाना बनाउँदै निर्माण कार्य अघि बढाएका छैनन् । २०७१ सालमा ठेक्का सम्झौता भएपनि २०७३ सालमा पुलको जगको डिजाइन परिवर्तन भएको थियो । डिजाइन परिवर्तन हुनुभन्दा अघिको समयलाई आधार मानेर अन्तिम पटक म्याद थपका लागि प्रक्रिया सुरु गरिएको दासले बताए । ‘डिजाइन परिवर्तनपछि पनि दुई वर्षसम्मको म्यादमा खासै कामै भएन । उहाँले डिजाइन परिवर्तनलाई मात्रै दोष देखाइरहनुभयो’, दासले भने, ‘डिजाइन परिवर्तन अघिको समयलाई शुन्य समय मान्ने हो भने पनि म्याद गुज्रेपछिको थप दुईवर्ष बित्यो तर काम भएन ।’

आगामी असार मसान्तसम्ममा पुल निर्माण नसके पप्पु कन्स्टूक्सनसँगको ठेक्का सम्झौता रद्ध गरी कालोसूचीमा राख्ने कार्यालयको तयारी छ ।
सो पुलको लम्बाइ एकसय ५० मिटर लामो रहेको छ । तीन स्पान र चार पिलर रहने पुल १५ करोड करोड ४५ लाख रुपैयाको लागतमा बन्ने सम्झौतामा उल्लेख छ । हालसम्म ठेकेदार कम्पनीले एककरोड ४९ लाख रुपैया अग्रिम भुक्तानी लगिसकेको सडक योजना कार्यालयले जनाएको छ ।
काममा लापरवाही गरेको भन्दै कार्यालयले उक्त कम्पनीको बैङ्क जमानत जफतको प्रक्रिया अघि बढाए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ । कार्यालयले गएको जेठ ८ गते सम्बन्धित बैङ्कलाई पत्र लेखेर जमानत वापतको रकम फिर्ता मागेको थियो । उक्त निर्णय विरुद्ध अन्तरिम आदेशको माग गर्दै पप्पु कन्स्टूक्सनले उच्च अदालत पोखरामा मुद्धा दर्ता गरेको थियो । पोखराले अन्तरिम आदेश नदिएपछि कम्पनी सर्वोच्च पुगेको थियो ।

सर्वोच्चले तत्काल बैङ्क जमानत जफत नगर्नु भन्दै अन्तरिम आदेश दिएपछि पप्पु कारवाही प्रक्रियाबाट जोगिएको छ । तर उक्त ठेकेदार कम्पनी काममा भने फर्किएको छैन । विचमा भएको डिजाइन परिवर्तनलाई आधार बनाउँदै उसले सरकारी निकायकै कारण काममा ढिलाई भएको दावी गर्दै आएको छ । त्यसैले अन्तिम अवसरका रुपमा म्याद थप गर्न लागिएको ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाले जनाएको छ । पुल नबन्दा साविकको मकैसिं, ताङलीचोक, फुजेल, दर्बुङ, घैरुङ, मनकामना, ताक्लुङ, नाम्जुङ र भुम्लीचोक गाविसका बासिन्दालाई पृथ्वी राजमार्गसम्म आवात जावातमा समस्या भएको छ । मोटरेबल पुल नहुँदा ती ठाउँका बासिन्दा राजमार्गसम्म आउन झोलुंगे पुल तर्नुपर्छ । पुलको अभावमा सो क्षेत्रमा उत्पादन भएका कृषि उत्पादन बेचविखनका लागि राजमार्गसम्म ल्याउन पनि किसानलाई समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्