
गोरखामा पनि फाट्टफुट्ट डेँगुका बिरामी भेटिए
गोरखामा पनि फाट्टफुट्ट डेँगुका बिरामी देखा पर्न थालेका छन् । गोरखा अस्पताल तथा विभिन्न नीजि अस्पताल तथा क्लिनिक हरुमा फाट्टफुट्ट डेँडुका बिरामी देखिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
‘अहिलेसम्म गोरखा घर भई बिभिन्न ठाउँमा काम गर्दै आएका १४ जनामा डेँगु देखिएको छ’, कार्यालयका नरजङ ठकुरीले भने, ‘सैनिक अस्पताल, ग्राण्डी, अस्पताल, भरतपुर अस्पतालबाट रिपार्ट हो यो । गोरखामै बस्ने वा गोरखाका बिभिन्न स्वास्थ्य संस्थाबाट रेफर भएकाहरुमा चाहिँ देखियो भन्ने सूचना आएको छैन ।’
गोरखा अस्पतालले भने एक महिनाको अवधिमा दुई तीन जनामा भेटिएको जनाएको छ । ‘हामीले नै निक्र्यौल गरेर भन्न सक्दैनौं, तर हामीले रेफर गरी पठाएका बिरामहरु एक दुई जनामा डेँगु भेटिएको जानकारी छ’, गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘उनीहरु पनि सुरुकै चरणमा अस्पताल पुगेकाले सामान्य उपचारपछि घर फर्किएको भन्ने जानकारी आएको छ ।
डेँगुबारे ठाउँठाउँमा जनचेतना मुलक कार्यक्रम गर्न ढिला भइरहेको उनले तर्क गरे । ‘यतिबेला त जनस्वास्थ्य कार्यालय आफैले, स्वास्थ्य सम्बन्धी काम गर्ने एनजीओहरु परिचालन गरेर जनचेतनामुलक कार्यक्रम प्रसस्तै गर्नुपर्ने हो’, उनले भने, ‘यो पक्षमा खै किन ढिला गरिरहेको हो ? सम्बन्धित निकायले त्यति चासो दिएको पाइएन ।’
जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले डेँगु लागेको बिरामी गोरखामा भेटिएको बारे औपचारिक जानकारी नभएको बताएका छन् । डेँगु परीक्षणको प्रविधि जिल्लामा नभएको भन्दै उनले जनचेतना मुलक कार्यक्रम गर्न स्थानीय तहका स्वास्थ्य कार्यालयहरुलाई बारम्बार आग्रह गरिरहेको बताए ।




