| आइतवार, कार्तिक २२, २०८३

गोरखामा डेंगु परिक्षण गर्ने किट नै छैन

देशभर डेंगुको संक्रमण फैलिरहँदा गोरखामा भने डेंगु परिक्षण गर्ने किट नै नभएको पाईएको छ । प्रयोगशालामा गरिने विभिन्न परिक्षणमध्ये मानिसको रगत किटबाट परिक्षण गरि डेंगुको संक्रमण भए नभएको पत्ता लगाईन्छ । ज्वरो आएका विरामीको सेतो रक्तकोष जाच गर्दा ४ हजार भन्दा कम र रगत जम्ने पदार्थ प्लेटलेट एक लाख भन्दा कम भएमा त्यस्ता ब्यक्तिमा डेंगु हुने सम्भावना रहन्छ । तर किटको अभावमा त्यस्ता समस्या भएका बिरामीलाई डेंगु भए नभएको एकिन रुपमा परिक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा डेंगु परिक्षण गर्ने किट नभएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज खडकाले जानकारी दिए । स्वास्थ्य कार्यालयमा शुक्रबार भएको डेंगुरोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सरोकारवालाहरुसँगको बैठकमा यस विषयमा छलफल भएको हो । छलफल पश्चात गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका डाक्टर रामबहादुर केसीले मन्त्रालयमा यस विषयमा जानकारी गराउने बताए । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आबश्यकता परे गोरखा नगरपालिकाले किट खरिदका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । बैठकमा डेंगुको रोकथामका लागि सबै पक्षबिच सहकार्य गरेर  जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

कार्यक्रममा डाक्टर केसीले डेंगु लाग्ने कारण, लक्षण तथा रोकथामका उपायका बारेमा जानकारी दिएका थिए । डेंगु ज्वरो एसिड एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने उनको भनाई छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, जीउ, जोर्नी दुख्नु, उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु लगायतका लक्षण यो रोगमा देखिने भएकाले यस्ता समस्य देखिए तुरुन्त डाक्टरको सम्पर्कमा आउन उनले सुझाव दिए । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको उनले जानकारी दिए ।

वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्ने भएकाले पानी जम्न नदिन उनले आग्रह गरेका छन् ।  एडिस इजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउन डाक्टर केसीले सुझाव दिए  । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न, बालबालिकालाई सुताउँदा पनि झुल भित्रै सुताउन, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउन, घरका झ्याल ढोकामा जाली लगाउन र घर वरपर सफा सुग्घर राख्न उनले आग्रह गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्