
गोरखाको लार्केभन्सारबाट बर्षौदेखि गाईगोरु तस्करी
गोरखाको लार्के भन्सार हुदै बर्षौदेखि गाईगोरु तस्करी हुने गरेको छ । गोरखाका बिभिन्न गाउँ तथा लम्जुङबाट समेत हुलका हुल गाई लार्के भन्सार कटाउने गरिएको स्थानीयहरु बताउँछन् ।
‘एकहप्ता, दुई हप्तामा बीस, बाईस वटाका दरले गाई यो बाटो कटाएर लान्छन्’, स्थानीय विशाल हिमाली घलेले भने, ‘गाईगोरु ओसार्ने मान्छे पनि हामी चिन्छौं तर कहाँ लान्छन्, के गर्छन्, त्यो चाहिँ हामी भन्न सक्दैनौं ।’ चिसो हावापानीका कारण सिर्दिबासभन्दा माथि गाईपालन हुदैन । ‘यहाँभन्दा माथि याक, चौँरी, झोँपाहरु हुन्छन् । तर गाईचाहिँ किन माथि लान्छन् त्यो हामीले पनि बुझ्न सकेका छैनौं’, उनले भने ।
लार्केभन्सार चुमनुब्री गाउँपालिका ३ जगतमा रहेको छ । तिब्बतको बजारमा हुने कारोबारलाई मध्यनजर गरी यहाँ भन्सार राखिएको हो । तर अहिले यहाँ कर्मचारी नभएको स्थानीय गणेश कार्की बताउँछन् । कर्मचारी नहुँदा पनि यहाँबाट हुने गरेका अवैध कारोबार नियन्त्रण हुन नसकेको उनको भनाइ छ ।
सिर्दिबासभन्दा माथिका चुम उपत्यका र नुब्री उपत्यका शान्ति क्षेत्र हो । दुवै उपत्यकामा काटमार निषेध गरिएको छ । चुम उपत्यकामा काटमार गर्ने उद्देश्यले पशुचौपाया किनबेच तथा ओसारपसार समेत निषेध गरिएको वडा अध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् ।
स्रोतका अनुसार तल्लोभेगबाट भन्सार कटाइएका गाईगोरु चुम उपत्यका र नुब्री उपत्यका प्रवेश गर्नुअघि नै मासुमा परिणत हुने गर्छन् । ‘यो ठाउँमा काटिन्छ, त्यो ठाउँमा मारिन्छ भनेर त नभनुँ, तर तलबाट ल्याएको गाईगोरु सिर्दिबास कटेर माथिचाहिँ जादैन’, नाम गोप्य राखिदिन आग्रह गर्दै स्रोतले भन्यो, ‘गाउँमै प्रहरी चौकी छ, उसले थोरै दुख ग¥यो भने पत्ता लगाउन सक्छ । हामी त वुद्धमार्गी हौं, गाउँलाई शान्ति क्षेत्र राख्न चाहन्छौं । त्यही भएर यत्ति पनि बोल्न सक्छौं ।’
लार्केभन्सार हुदै निरन्तर रुपमा गाईगोरु तस्करी हुने गरेको बारे आफूलाई कुनै जानकारी नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउँछन् । ‘प्रहरीसंग सूचना छ कि, मसंग सेयर गरेको छैन’, उनले भने ।




