
नगरबासीको आँखा परीक्षणमा गोरखा नगरपालिकाले सघाउने
गोरखा नगरपालिकाले नगरबासीको आँखाको समस्याको पहिचान तथा उपचारका लागि सघाउने भएको छ ।
नगरबासीको आँखा स्वस्थ्य राख्नका लागि बार्षिक कार्ययोजना बनाएर हरेक वडाका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा आँखा जाचँ शिविर सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख निश्चल अर्यालले जानकारी दिए । आँखा जाचँ शिविरका लागि गोरखा नगरपालिका र लायन्स क्लब अफ गोरखाबिच सम्झौता भएको छ । सम्झौता पत्रमा मेयर राजनराज पन्त र लायन्स क्लब अफ गोरखाका अध्यक्ष अच्युतलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । एकबर्षका लागि भएको सम्झौता अनुसार शिविरमा लायन्स क्लब अफ गोरखाले प्राविधिक सहयोग गर्नेछ । चस्मा र आँखाको औषधि निशुल्क दिइनेछ । शिविरमा आँखा जाचँ गर्न आउनेमध्ये शल्यक्रिया गर्नुपर्ने बिरामीलाई शल्यक्रिया शुल्कमा ५० प्रतिशत खर्च नगरपालिकाले ब्यहोर्ने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए । बार्षिक कार्ययोजना बनाएर नगरको सबै वडा र सामुदायिक विद्यालयमा शिविर सञ्चालन गर्ने उनको भनाई छ ।
बालबालिकामा हुने दृष्टि दोष र वृद्धवृद्धामा हुने मोतियाविन्दु र जलविन्दुको समयमा नै पहिचान गरि उपचार गर्ने नगरपालिकाको लक्ष्य छ ।
पछिल्लो समय खानपान, बदलिंँदो जीवनशैली र प्रदूषणले आँखामा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउछन् । ‘ बालाबालिकामा हरियो सागपात र पहेँला फलफूल खुवाउने बानी कम छ, यसको असर आँखामा देखिने गरेको छ’ अर्यालले भने ‘ जंकफुड बढि खाने र मोबाइल, टीभीमा बालबालिका भुल्ने क्रम बढ्दो छ । यसको प्रत्यक्ष असर आँखामा परेको छ ।’ धेरै मोबाइल र टेलिभिजन हेर्ने बालबालिकाकामा आँखा सुक्खा भएर दृष्टिदोष देखा पर्ने उनले बताए ।
यो समस्यामा आँखामा निरन्तर दबाबका कारण सुरुमा टाउको दुख्छ । आँखा पोल्ने, धमिलो हुने, सुख्खा हुने जस्ता समस्या देखिन सक्छ । यसैले समयमै उपचार नगरे आँखा नै बिग्रने सम्भावना धेरै हुने भएकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पनि आँखा जाचँ शिविर सञ्चालन गर्ने निर्णय भएको उनको भनाइ छ ।




