
भूकम्पले लखेटेका बारपाक रुतुकबासीलाई पहिरोले पनि बस्न दिएन
बारपाक थलीडाँडाको घर २०७२ सालको भूकम्पले भत्काइदियो । जमिन पनि चिराचिरा पारेपछि डिलबहादुर गुरुङको परिबार सुरक्षित ठाउँ खोज्दै केही परको रुतुकमा टहरो बनाएर बस्न थाले । बुधबार राती तीन घण्टासम्म पानी परेपछि उनी बस्ने जस्ताले बारेको, जस्ताले नै छाएको टहरोमा पहिरो पस्यो । भूकम्पकै कारण अजीरकोटबाट बिस्थापित भई आएका देउबहादुर गुरुङको पसल घर त पहिरोले बगाइदियो ।
यहाँ पनि असुरक्षित भएपछि झिटिगुण्टा बोकेर फेरि पुरानै थलीडाँडातिर लागेको डिलबहादुर बताउँछन् । ‘थलीडाँडामा बस्न नसकेर यहाँ आइयो, अहिले यहाँ पनि बस्न सकिएन’, उनी भन्छन्, ‘हिजो रातभरि भैंसीको गोठमा रात बिताइयो । बिहान फर्किएर आउँदा पहिरो पसेर घरमा बस्न निमिल्ने भएको रहेछ । कहाँ बस्ने भनेर घरसल्लाह भयो । बरु पुरानै थलीडाँडै जाउँ भनेर भएभरको झिटीगुण्टा बोकेर फेरि थलीडाँडा फर्किएका छौं ।’
रुतुकमा घर बनाउन जम्मा गरेको ढुङ्गा, गिटी, बालुवा, काठ पनि पहिरोले बगाएर लगेपछि समस्या भएको उनको गुनासो छ । ‘रोडको नजिक पनि हुन्छ, सुरक्षित पनि छ भनेर रुतुकमा घर बनाउन रिनधन गरेर सामान जुटाउँदै थिएँ, हिजोरातीको पहिरोले लगिदियो’, उनले भने, ‘अब के गर्ने साह्रै समस्यामा परियो ।’
भूकम्पबाट बच्न थलीडाँडा, पैलम, दरगङबाट भागेर रुतुक बस्न आएका ३२ घरपरिबारमध्य १२ घरका परिबार देउबहादुर र डिलबहादुरको परिबार जस्तै समस्यामा छन् । घरमा पहिरो पसेपछि त्यहाँका बासिन्दाले गाउँ छाडेका छन् । ‘गाउँमा पहिरो पसेपछि यताको पाँच, छ घर यताको डाँडामा, उताको पाँच, छ घर उताको डाँडामा भैसीको गोठमा बसेर रात काटियो’, डिलबहादुरले भने, ‘बिहान गाउँमा फर्केर आउँदा देउबहादुरको पसल घर बगाएर लगेको रहेछ । अरु घरमा पनि पहिरो पसेको रहेछ ।’ गाउँमा रहेको ट्याक्टर पनि पहिरोले पुरिएको उनले बताए । बारपाक सडकको नाली ब्यबस्थित नहुँदा अहिले समस्या परेको स्थानीयबासीको गुनासो छ । ‘बारपाक जाने मुख्य सडकको नाली बनाउँदा बनाउँदै गाउँको माथि आइपुगेपछि ठेकेदारले अलपत्र पारेर छोडेको रहेछ । त्यही नालीबाट आएको बाढीले गाउँमा पहिरो ल्याएको हो’ अर्का स्थानीय पुरबहादुर गुरुङले भने । बुधबार रातीको पहिरोले थलीडाँडा पनि जोखिममा रहेको उनको भनाइ छ । अलगंङ र थलीगङ बीचमा ठूलो पहिरो झरेर गाउँको ११ घरधुरी जोखिम भएको स्थानीय गुरुङले बताए ।गाउँमा पहिरो पसेपछि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयारी पठाएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । ‘एउटा पसल घर पूर्ण रुपमा क्षति भएको भन्ने खबर आएको छ । करिब १४ लाख बराबरको धनमाल बगाएर लगेको अनुमान छ’, एसपी अधिकारीले भने । साथै पहिरोका कारण उत्तरी गोरखा जाने आरुघाट सडकको आरुघाट, सोती खण्ड अबरुद्ध भएको प्रहरीले जनाएको छ ।




