| आइतवार, कार्तिक २२, २०८३

गोरखा आँबुखैरेनी सडकमा आज दोस्रो दिनपनि चक्काजाम

मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको यथासीघ्र छानबीन गर्न दबाब दिदै स्थानीयबासीले शुक्रबार दोस्रो दिन पनि गोरखा आँबुखैरेनी सडक अबरुद्ध गरेका छन् ।

स्थानीयबासीले गोरखा नगरपालिका १० टक्सारमा सडकमा ढुङ्गा थुपारेर तथा मान्छे बसेर सडक अबरुद्ध बनाएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक सुकबहादुर बिकले जानकारी दिए ।

घटनाको तत्काल छानबीन गर्ने र सत्यतथ्य सार्वजनिक गर्ने माग राखेर बिहान नौबजेदेखि सडक अबरुद्ध गरिएको मृतकका आफन्त सुबास घिमिरेले जानकारी दिए । ‘भन्न त हामीले दुईघण्टाका लागि भनेका छौं, तर प्रशासन कार्यालयले हाम्रो मागलाई बेवास्ता गरे अनिश्चितकालीन चक्काजाम गर्नेछौं’, घिमिरेले भने ।

स्थानीयबासीले घटनाको यथासीघ्र अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । उनीहरुले बिहिबार विद्यालयमा तालाबन्दी गरी सडक अबरुद्ध गरेका थिए । त्यस्तै शुक्रबार जिल्ला प्रशासन कार्यालय पनि केहीबेर घेराउ गरेका थिए ।
गत सोमबार राती नौबजे विद्यालयबाट घर जान हिडेका ५० बर्षीय घिमिरेको मंगलबार बिहान नौ बजे विद्यालय नजिकैको जंगलमा शव भेटिएको थियो ।

विद्यालयभित्र यसअघि पनि कुटपिट भइरहने र विद्यालयभित्रको कर्तुत बाहिर ल्याइदिने त्रासले विद्यालयभित्रै उनको हत्या भएको परिबारको आशंका छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको राजिनामा, बहिरा संघ, जिल्ला समिति खारेजी हुनुपर्ने लगायतका मागसमेत राखेर आन्दोलन गरेको घिमिरेले बताए ।

घटनाको सत्यतथ्य बिबरणको माग गर्दै पोष्टमार्टम गरिएको शव मृतकका आफन्तले अहिलेसम्म बुझ्न मानेका छैनन् ।
चक्काजाम खुलाउन प्रयास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘हामीले केही मान्छे पक्राउ गरी अनुसन्धान गरिरहेका छौं । अनुसन्धानको आफ्नै प्रक्रिया हुन्छ, जुन उहाँहरुलाई सार्वजनिक गरिरहनु जरुरी पनि छैन’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने, ‘उहाँहरुले जे गर्दैहुनुहुन्छ, त्यो ठिक छैन । हामी चक्काजाम खुलाउँछौं ।’

 

तस्वीर : विपिनचन्द्र ढकालको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्