
पालुङटारको चिहानडाँडाबाट जुवाडे पक्राउ (को को परे पक्राऊ सूचीसहित)
पालुङ्टार नगरपालिका वडा नं. ५ को जङ्गलबाट आठ जना जुवाडे पक्राउ परेका छन् ।
गण्डकी प्रदेश प्रहरीको अनुसन्धान व्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएका टोलीले जङ्गलमा टेण्ट टाँगेर जुवा खेलिरहेको अबस्थामा जुवाडे पक्राउ गरी र उनीहरुको साथमा नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिरानचोक गाउँपालिका ५ का दामोदर घिमिरे, पालुङ्टार नगरपालिका ५ का रुपबहादुर गुरुङ र गोरखा नगरपालिका १० का झमबहादुर भुजेल रहेका छन् । त्यस्तै बेशीसहर नगरपालिका ७ का दुर्गा घिमिरे, बेशीसहर नगरपालिका ८ का भरत पौडेल, बन्दीपुर गाउँपालिका ६ का किरणकुमार श्रेष्ठ, भानु नगरपालिका ७ का नसुमुन मिया, व्यास नगरपालिका १२ का नवराज शर्मा रहेको प्रहरीले जनाएको छ ।
‘जङ्गलमा घुम्ति शिविर बनाएर जुवा खेल्छन् भन्ने सूचनाको आधारमा व्यूरो र हाम्रो संयुक्त टोलीले सर्च गर्दा जुवाडे पक्राउ परेका हुन्’, इप्रका ठाँटिपोखरीका प्रहरी निरीक्षक सीताप्रसाद चौधरीले भने, ‘उनीहरुको साथबाट तीनलाख ८७ हजार दुईसय ५० रुपैयाँ बराम गरेका छौं ।’
पक्राउ परेकामध्य गोरखा, तनहूँ र लम्जुङका पेशेवार जुवाडे रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहिबार जुवा ऐनअन्तर्गत मुद्धा दर्ता गरिएको इन्स्पेक्टर चौधरीले जानकारी दिए




