| आइतवार, कार्तिक २२, २०८३

पहिरोले मान्बुका २० घर जोखिममा, पाँच गोठ बिस्थापित

चारदिनदेखिको पहिरोका कारण आरुघाट गाउँपालिका १ टेपचेत र फर्सीटोलका २० घर जोखिममा परेका छन् । तातुकडाँडाबाट निरन्तर पहिरो झरिरहेकाले चेप्चेत टोलका १४ घर र फर्सीटोलका छ घर जोखिममा परेको स्थानीय तुलसिङ गुरुङले जानकारी दिए ।

‘गाउँभन्दा माथि पहिरो आएर बसेको छ । पानी दर्किन थाल्यो भने त्यो पहिरो गाउँमा झर्छ’, उनले भने, ‘त्यसपछि गाउँले कहाँ भाग्ने हो, भनेर गाउँलेहरु डरैडरमा बसेका छन् ।’

तातुकडाँडा सामुदायिक वनका संरक्षित उतिसको जंगल र कोदोबारी पनि पहिरोले बगाएर क्षति गराएको छ ।

पहिरोका कारण लामाथो टोलको एउटा गोठ बगाएको छ । पहिरो नजिकै आएपछि अन्य पाँचवटा गोठ पनि बिस्थापित भएका स्थानीय शिक्षक जीतबहादुर गुरुङले बताए । ‘एउटा गोठ पहिरोले लग्यो । त्यो देखेपछि पहिरो वरिपरि रहेका पाँचवटा गोठहरु पनि बिस्थापित भएका छन्’, उनले भने, ‘अहिले गाउँलेले पहिरोभन्दा सय, डेढसय मिटर पर कोदोबारी मासेर पाल टाँगेर गाईबस्तु बाँधेका छन् ।’ बाढीको रुपमा पहिरो झर्न थालेपछि गाउँले त्रसित भएको उनले बताए । ‘अहिले त पानी आउन छोड्यो र पहिरो खास्न पनि छोड्यो, अलिअलि पानी पर्न थालेपछि बाढी आए झैं पहिरो जान थाल्छ, अनि गाउँलेहरु आत्तिन थाल्छन् ।’

मान्बुको पहिरो बारे निरीक्षण गर्न वडा सदस्यलाई पठाएको आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए । अबस्थाको सत्यतथ्य आएपछि यथासक्य सहयोग गर्ने दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्