| आइतवार, कार्तिक २२, २०८३

गोरखाको बारपाकमा स्याउको परीक्षण खेती सुरु

 

गोरखाको बारपाकमा स्याउ रोपिएको छ । गाउँको एक मात्र माध्यमिक तहको विद्यालय हिमालय माविको परिसरमा स्याउका ६५ वटा बिरुवा रोपिएको प्रधानाध्यापक जनीबहादुर घलेले जानकारी दिए ।

कर्णाली जडिबुटी तथा फलफूल संकलन तथा बिक्रीकेन्द्र नामक संस्थासंगको समन्वयमा लो सेलिङ जातको स्याउ रोपिएको प्रअ घलेले बताए ।

‘बारपाक सुलीकोट गाउँपालिकाले १० हजार रुपैंया सहयोग ग¥यो । विद्यालयले २० हजार रुपैयाँ खर्च गरेर ३० हजारमा प्रतिबिरुवा पाँचसय रुपैंयाँका दरले ६५ थान बिरुवा खरिद ग¥यौं’, प्रअ घलेले भने, ‘विद्यालय वरिपरिको खालि जग्गामा स्याउ रोपेका छौं । यहाँ राम्रो भयो भने, मनेडाँडानेरको विद्यालयको जग्गामा पनि रोप्नेछौं ।’ संस्थाले डेढबर्षसम्म रेखदेख गर्ने र विरुवा मरेमा निशुल्क सट्टा बिरुवाको ब्यबस्था गर्ने जनाएको छ ।एकहजार मिटरदेखि दुईहजार मिटरसम्मको उचाइमा लगाउन मिल्ने लो सेलिङ स्याउ कालिकोटबाट ल्याइएको हो । सो स्याउको बिरुवा साउनदेखि फागुनसम्म रोप्न मिल्ने संस्थाले जनाएको छ ।

यसअघि बारपाकका बासिन्दाले मुस्ताङका ब्यापारीले ल्याएको स्थानीय जातको स्याउको बिरुवा एकदुई थान किनेर करेसाबारीमा लगाएका थिए । बढि उचाइमा हुने ती बिरुवा धमाधम मरेका प्रअ घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्