
लार्के भन्सारको कारोबार : बार्षिक कमाइ ५७० रुपैयाँ, खर्च ४ लाख ६१ हजार
गोरखामा रहेको लार्के भन्सार कार्यालयले एक बर्षमा ५७० रुपैंया आम्दानी गरेको पाइएको छ । चुमनुब्री गाउँपालिका ३ जगतमा रहेको सो कार्यालयले आर्थिकबर्ष २०७५÷०७६ मा वनलसुन निर्यात गरेबापत ५७० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख वुद्धमान शिरिषले जानकारी दिए ।
तिब्बत सीमा नाकाबाट सामान आयात भएबापत राजस्व संकलनका लागि सो भन्सार कार्यालय स्थापना गरिएको हो । तर सामान आयात गरेबापत राजस्व सुन्य भएको कार्यालय प्रमुख शिरिष बताउँछन् । ‘आयातबापतको राजस्व सुन्य छ’, उनले भने, ‘वन लसुन निर्यात गरेबापत पाँचसय ७० रुपैयाँ आम्दानी भएको छ ।’ वनलसुनको प्रतिकिलो एक रुपैयाँका दरले राजस्व संकलन गरेको उनले बताए ।‘आयात गर्दा राजस्व अल्लि बढि लाग्छ, निर्यात गरेको राजस्व न्यून हुन्छ’, उनले भने, ‘यसअघि आर्थिकबर्ष २०७४÷०७५ मा त झन् दुईसय ६० रुपैयाँ मात्र आम्दानी भएको थियो । बिभागमा जाँदा मलाई दुईसय ६० रुपैयाँ उठाइयो हैन ? भनेर जिस्क्याउने गर्छन् ।’ कार्यालयको खर्च बार्षिक चारलाख ६१ हजार रुपैयाँ हुने गरेको छ । कर्मचारी तबल र घर भाडाबापत सो रकम खर्च हुने गरेको कार्यालय प्रमुख शिरिषले जानकारी दिए ।
भन्सार बिभागले नीजि घर भाडामा लिएर जगतमा लार्के भन्सार कार्यालय सञ्चालन गरेको छ । घरभाडाबापत बार्षिक ११ हजार ५५० रुपैयाँ तिर्ने गरेको उनले बताए । त्यस्तै कर्मचारीको तलबभत्ताबापत चारलाख ५० हजार रुपैयाँ खर्च हुने उनको भनाइ छ ।
लार्के भन्सार कार्यालयमा नायब सुब्बा तहका एकजना मात्र कर्मचारी कार्यरत छन् ।
लार्के भन्सार नाम भएपनि सो भन्सारबाट लार्के नाका पुग्न चारदिन पैदल हिड्नु पर्छ । लार्केको रुइला नाका र छेकम्पारको ङुइला नाका सो कार्यालयको कार्यक्षेत्र हो तर माओवादी जनयुद्धको समयदेखि कार्यालयको गतिबिधि सुन्यप्राय भएको हो । नाकामा भन्सार नभएका कारण राजस्व कम संकलन भएको स्थानीयबासी बताउँछन् । ‘रुइलाबाट पनि सामान आउँछ, ङुइलाबाट पनि सामान आउँछ’, स्थानीय गणेश कार्की भन्छन्, ‘तर नाका भन्दा भन्सार कार्यालय चारदिनको बाटो तल छ । यहाँ राजस्व तिर्नका लागि को आइपुग्छ र ? त्यही पनि सँधै खुल्दैन ।’ भन्सार कार्यालय निश्क्रिय हुँदा नाकाबाट अबैध सामान पनि आउने गरेको छ । रुइलाबाट १७ किलोग्राम र ङुइलाबाट दुईपटक गरी २६ किलोग्राम सुन अबैध आयात भइसकेको छ ।
११ सय ६० किलोग्राम चिरुको रौं आयात भएको थियो । भन्सार बिभागले भने तातोपानी नाका र रसुवागढी नाका बाहेकलाई प्राथमिकता नदिएको जनाएको छ । ‘नेपाल र तिब्बतको सीमानामा नौ वटा नाकाहरु छन् तर हामीले तातोपानी र रसुवागढी नाकालाई मात्र प्राथमिकतामा राखेका छौं । धेरै कारोबार नहुने भएकाले अरु नाका ओझेलमा परेका छन्’, भन्सार बिभागकी नायब महानिर्देशक मनमाया पँगेनीले भनिन् ।




