
गोरखामा यसबर्ष कृषि ज्ञान केन्द्रको बजेट बृद्धि
अनुपमा खनाल
कृषि ज्ञान केन्द्रमार्फत गोरखामा खर्च हुने बजेट चालु आर्थिक बर्ष १३.३ प्रतिशत बढेको छ । गण्डकी प्रदेश सरकारको भूमिब्यबस्था कृषि तथा सहकारी मन्त्रालयबाट केन्द्रले चालु आर्थिक बर्षका लागि चारकरोड २६ लाख ९० हजार रुपैयाँ प्राप्त भएको हो ।
अघिल्लो बर्ष गोरखा कार्यालयले तीन करोड ७६ लाख ६२ हजार रुपैयाँ बजेट पाएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा केन्द्रकी प्रमुख मनिता थापाले चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
यो बर्ष विनियोजन भएको बजेटमध्ये चालु तर्फ दुई करोड ८७ लाख ६३ हजार रुपैयाँ छ भने पुँजीगततर्फ एक करोड ३९ लाख २७ हजार रुपैयाँ छ । कार्यालयले यो बर्ष ४२ वटा सिँञ्चाई आयोजनाका लागि एक करोड २३ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । यस कार्यक्रममा कुल लागतको कम्तिमा १५ प्रतिशत स्थानीयले ब्यहोर्नु पर्नेछ । १३ वटा मोडल फार्म सञ्चालनका लागि ६५ लाख रुपैयाँ, १० वटा ग्रीन हाउस तथा प्लाष्टिक घर निर्माणका लागि २२ लाख रुपैयाँ र कृषि यन्त्र तथा औजारमा अनुदानका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।
कृषि वन प्रणाली प्रबद्र्धनका लागि छ लाख र नमुना फलफूल बगैंचा प्रदर्शनका लागि छ लाख रुपैयाँ, नर्सरी तथा स्रोतकेन्द्र स्थापना र घर घरमा प्राङ्गारिक मल उत्पादन तथा प्रयोग प्रबद्र्धन र माटो परीक्षणका लागि मिनिल्याब स्थापनाका लागि आठ÷आठ लाख रुपैया विनियोजन भएको छ । किसान तथा प्राविधिकलाई तालिम, सरोकारवालासँग गोष्ठी तथा समन्वय बैठक लगायतका कार्यक्रमका लागि पनि बजेट छुट्टाईएको छ ।
स्थानीय तह लगायत सरोकारवालाहरुसँगको समन्वय तथा सहकार्यमा कार्यालयले कार्यक्रम सञ्चालन गर्ने केन्द्र प्रमुख थापाले बताइन् ।
कार्यक्रममा सहभागीहरुले स्थानीय तथा केन्द्र सरकारका कार्यक्रमसँग नदोहोरिने गरी कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिएका थिए । एकआपसमा सरोकारवालाहरुसँग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गर्दा नतिजा राम्रो हुने उनिहरुको तर्क छ । अनुदानका कार्यक्रममा वास्तविक किसानलाई मात्र समावेश गनृ उनिहरुले आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




