| आइतवार, कार्तिक २२, २०८३

गोरखामा आत्महत्या गर्नेको संख्या ४३ प्रतिशतले बढ्यो

 

दुई वर्षको अबधिमा गोरखामा आत्महत्या गर्नेको संख्या ४३ प्रतिशतले बढेको छ ।

गत दुई आर्थिक वर्षको तथ्याङ्कका आधारमा जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ । गत आर्थिक वर्ष जिल्लामा ६७ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४÷७५ मा भने ४७ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

चार आर्थिक वर्षयताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७३÷७४ मा मात्रै संख्या घटेको छ । आर्थिक वर्ष २०७२÷७३ मा ६२ जनाले आत्महत्या गरेकोमा त्यसपछिको वर्ष ५३ जनाले आत्महत्या गरेका छन् । जिल्लामा झुण्डिएर आत्महत्या गर्नेको संख्या उच्च छ । गत आर्थिक वर्षका आत्म हत्याका ६७ घटनामध्ये ५५ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

प्रहरीका अनुसार झुण्डिएर, विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । मानिस बढी महत्वा कांक्षी बन्दै जानु, मानसिक तनाव, बहुविवाह, आत्मग्लानी र गरिबी लगायतका कारण वर्षेनी आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीको विश्लेषण छ । प्रहरीको तथ्यांक अनुसार पछिल्लो चार वर्षमा गोरखामा दुई सय २९ जनाले आत्म हत्या गरेका छन् । जिल्ला प्रहरी प्रमुख अधिकारीका अनुसार बेरोजगारी, व्यवसायमा असफल ता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्याका कारण पनि आत्म हत्याका घटना बढ्दै गएको हो । यस्तै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा लगायतका कारण पनि आत्महत्या भएको हुन सक्ने एसपि अधिकारीले बताए ।

‘आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान गर्दैछौ’ उनले भने ‘आत्महत्या गर्नेहरुको संख्या बढ्दै जानुले समाज डरलाग्दो अवस्थामा जांदै छ भन्ने अवस्थाको चित्रण गरेको छ ।

बेरोजगारलाई काम दिने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रम चलाउन सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ कि ।’ विभिन्न प्रविधिको विकाससँगै मानिसहरु एक्लै बस्ने, अभिभावक हरुको व्यस्तता, लागूपदार्थको सेवन, पढाईमा असफलता, परिवारिक असहयोग, सामाजिक बहिस्करण जस्ता कारण पनि मानिसले आत्महत्या गर्ने पाईएकोले हरेक व्यक्तिसँग परिवार र समाजलाई जोड्नपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्