
गोरखा संग्रहालय घुम्नेको संख्या एक तिहाई बढ्यो
अघिल्लो बर्षको तुलनामा गोरखा संग्रहालय अबलोकन गर्नेको संख्या ३० प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७४÷०७५ को तुलनमा २०७५÷०७६ मा संग्रहालय अबलोकन गर्नेको संख्या ३०.७६ प्रतिशतले बढेको गोरखा संग्रहालयले जनाएको छ ।
गत आर्थिक बर्षमा ९८ हजार एक सय ३६ जनाले संग्रहालयको अबलोकन गरेका थिए । यसअघि आर्थिक बर्ष २०७४÷०७५ मा संग्रहालय अबलोकन गर्नेको संख्या ७५ हजार ५३ थियो ।
गत बर्ष ४० हजार दुई सय १५ विद्यार्थी, ५६ हजार दुई सय ११ साधारण नेपाली, ६० जना दक्षिण एसियाली मुलुकका पर्यटक र एक हजार ६ सय ५० जना अन्य देशका पर्यटकले संग्रहालय घुमेका छन् । तथ्यांक अनुसार कात्तिक र मंसिर महिनामा संग्रहालय घुम्नेको संख्या धेरै रहेको छ ।
संग्रहालयको चुस्त ब्यबस्थापन, प्रचार प्रसार तथा नागरिकको घुम्ने बानी बढ्दै गएकाले अबलोकन कर्ताको संख्या बढेको संग्रहालय प्रमुख नवराज अधिकारीले जान कारी दिए । ‘हामीले ब्यबस्थापन चुस्त बनाएका छौं’, उनले भने, ‘भ्रमणको सिजनमा चार बजे बन्द रहने संग्रहालय ५ बजेसम्म खोल्यौं, पर्यटक आगँनमा कुरेको देखिए दश बजे भन्दा अगाडि नै पनि खोल्यौं । सार्वजनिक बिदा रहेको नयाँबर्ष र अन्तराष्टिूय संग्रहालय दिवसमा पनि संग्रहालय खुल्ला राख्यौं । घुम्ने प्रवृत्ति बढ्नु र प्रचार प्रसारका कारण पनि अबलोकनकर्ता बढेका हुन् ।’
संग्रहालय घुम्नेको संख्या बढेसँगै राजस्व पनि बढेको उनले जानकारी दिए । २१ लाख ३३ हजार सात सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम अघिल्लो बर्षको तुलनामा २३ प्रतिशतले बढि हो । टिकट विक्री, क्यामेरा तथा फिल्म छायांकन, विद्यार्थी परिचय पत्र वितरण र घर बहाल करबाट संकलन भएको राजस्व रकम संघीय सञ्चित कोषमा दाखिला गरेको उनको भनाई छ । संग्रहालयले विद्यार्थीसँग १०, नेपालीसँग २५ र विदेशी सँग सय रुपैयाँ प्रवेश शुल्क लिदै आएको छ । गोरखा राज्य र नेपाल एकिकरणका सन्दर्भ, युद्धमा प्रयोग गरिएका हतियार, पुराना भाडवर्तन, विभिन्न जातीका पहिचान झल्कने सामाग्री, बाजा लगायतका सामाग्री संग्रहालयमा राखिएको छ । तत्कालीन राजा राजेन्द्रबिक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइदिएको दरवारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो ।
परम्परागत नेपाली वास्तु शैलीबाट बनेको लगभग अन्तिम दरवार भएकाले सो सम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय गन्तब्य विन्दू बन्ने गरेको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए । यसबाहेक तत्कालीन गोरखा राज्यको स्थापनाको पृष्ठभूमी र ऐतिहासिक पक्षबारे जानकारी दिन चाहनेहरुले पनि गोरखा संग्रहालय भ्रमण गर्दै आएका छन् ।
संग्रहालयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष छन् । गोरखा संग्रहालय रहेको दरवार चार रोपनी क्षेत्रफलमा फैलिएको छ भने संग्रहालय परिसरको क्षेत्रफल भने ६८ रोपनी रहेको छ । सार्वजनिक बिदा बाहेक हरेक मंगलवार संग्रहालय बन्द हुने गरेको छ ।




