| आइतवार, साउन ३०, २०८३

मान्बु पात्लेखर्कको मेघथुनदेवीको प्रवद्र्धन गर्न स्थानीयको चासो

मान्बुको पात्लेखर्कमा मेघथुन देवीको मन्दिरको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्न युवाहरु जागरुक भएका छन् ।

आरुघाट गाउँपालिका २ साबिक मान्बु गाविसको पात्लेखर्कमा मेघथुनदेवीको मन्दिर र त्यहाँस्थित ठूलो ढुंगाको प्रचार प्रसार गरेर पर्यटक भित्र्याउने लक्ष्य रहेको स्थानीय गोपाल गुरुङले बताए ।

मान्बुको ठूलो गाउँबाट तीनघण्टाको बाटो पैदल हिडेपछि पुगिने एकलासको गाउँ पात्लेखर्कको संरक्षण गरेर बसेकी देवीको प्रचार प्रसार गर्न सबै गाउँले इच्छुक रहेको उनले बताए ।

‘हाम्रो गाउँमा ७२ सालको भूकम्पको पनि खासै प्रभाव देखिएन’, उनले भने, ‘रोजगारीका लागि देश, विदेश गएकाहरु पनि अहिलेसम्म सुरक्षित रहेकोमा हामी मेघथुनदेवीले रक्षा गरेको भन्ने विश्वासमा छौं । त्यसैले देवीको प्रचार प्रसार गरी पर्यटन भित्र्याउन गाउँलेहरु एकमत भएका छन् ।’ पर्यटन विकासका लागि गाउँपालिका, जिल्ला समन्वय समिति लगायतका सम्बन्धित सबै निकायले सहयोग गर्नुपर्ने गोपाल गुरुङको भनाइ छ ।

धादिङ बसेरीको न्यौपानेहरुको गाई सातदिनसम्म सोही गाउँमा रहेको ठूलो ढुंगामा हराइरहेको र मेघथुनदेवीलाई स्तुती गरेपछि ढुंगा वरिपरि गाईबस्तु भेटिएको किवंदन्ती रहेको स्थानीयबासी बताउँछन् । सो मन्दिर आसपासमा बैशाख पूर्णिमा र भदौ पूर्णिमामा पूजा लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्