
अमरज्योति र ज्ञानमार्ग नमूना विद्यालय घोषणा
किरण लोहनी :
गोरखाको थप दुई वटा विद्यालय लाई नमुनाको रुपमा विकास गरिने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पालुङटारको अमरज्योति जनता लाईमावि र घ्याल्चोकको ज्ञानमार्ग माविलाई नमुनाको रुपमा विकास गरिने विद्यालयको सूचीमा राखेको छ । ‘हरेक स्थानीय तहमा कम्तिमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य छ, सोही अनुसार यो पटक एकसय विद्यालय छनौट गरेका छौं’ केन्द्रका निर्देशक गेहनाथ गौतमले भने, ‘हामीले आवेदन माग गरेका थियौं । गोरखा बाट अरु पनि आवेदन प्राप्त भएका छन्, क्रमैसँग छनौट हुँदै जान्छ ।’
कक्षा ११ र १२ मा पढाई हुने विषय, विद्यालयको स्वामित्वमा भएको जग्गा कम्तिमा १० रोपनी हुनुपर्ने, एसईई परीक्षाको नतीजा, स्थानीय स्तरमा विद्युत र इन्टरनेटको उपलब्धता, विद्यालयको अवस्थिति, अन्य विद्यालय गाभ्ने सम्भावना लगायतलाई आधार बनाएर विद्यालय छनौट गरिएको गौतमले बताए ।
केन्द्रले जिल्लाका ४ वटा विद्यालयलाई यसअघि नै छनौट गरी पूर्वाधार विकासको काम शुरु गरिसकेको छ ।
पहिलो चरणमा गोरखा नगरपालिका कुन्दुरको महेन्द्र माध्यमिक विद्यालय नमुनाका लागि छनौट भएको थियो । दोस्रो चरणमा परोपकार आदर्श मावि जौवारी, सूर्यज्योती मावि ताकुकोट र दुल्लभ मावि घ्याम्पेसाललाई नमुनाका रुपमा विकास गर्ने गरि छनौट गरिएको छ ।
महेन्द्र माविमा एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । दोस्रो चरणमा छनौट भएका ३ विद्यालयमा सम्बन्धित स्थानीय तह मार्फत डेढ करोड रुपैयाका दरले वजेट विनियोजन भएको छ ।
यो आर्थिक वर्ष पनि डेढ करोड रुपैयाकै दरले वजेट पठाइने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए । उक्त रकमबाट विद्यालयहरुले आवश्यक भौतिक पूर्वाधार निर्माणको काम गर्नेछन् ।
त्यससँगै पठनपाठन सुधारको काम पनि क्रमैसँग अघि बढाइनेछ । नमुनाको रुपमा विकास गर्न लागिएका सबै विद्यालयमा आवासिय सुविधा पनि उपलब्ध हुनुपर्ने केन्द्रको निर्देशिकामा उल्लेख छ ।
अहिले छनौट भएको अमरज्योती जनता माविलाई पालुङटार नगरपालिकाले नगरकै नमुना आवासिय विद्यालयको रुपमा विकास गर्न लागेको छ । ‘केन्द्र र स्थानीय सरकारको साझेदारीमा काम भएमा लक्ष्य प्राप्त गर्न सहज हुन्छ, विद्यालयलाई साँच्चै नमुना बनाउने कुरामा विद्यालय परिवारसँगै स्थानीय सरकारको पनि सहकार्यको खाँचो छ ।’
केन्द्रका निर्देशक गौतमको भनाई छ । घ्याल्चोकको ज्ञानमार्ग माविले भने नियमितसँगै प्राविधिक धारको पढाई पनि सञ्चालन गर्दै आएको छ । अहिले छनौट भएका दुई विद्यालयलाई नमुनाको रुपमा विकास गर्ने क्रममा शुरुमा गुरुयोजना निर्माण गरिनेछ । गुरुयोजना स्विकृत भएपछि क्रमैसँग पूर्वाधार निर्माण लगायतका काम अघि बढ्नेछन् ।




