| आइतवार, कार्तिक २२, २०८३

बर्षासँगैको पहिरोले गोरखामा नौ परिवार विस्थापित

 

बर्षासँगैको पहिरोले गोरखामा नौ परिवार विस्थापित भएका छन् । आइतबार रातीको बर्षासँगैको पहिरोले पालुङटार नगरपालिकाका सात र सिरानचोक गाउँपालिकाका दुई परिवार पहिरोका कारण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपि महेन्द्र नेपालले जानकारी दिए ।
पालुङ्टार नगरपालिका १० को बागडाडाँस्थित रेशमबहादुर अधिकारी, धौखोलाका अमृत बिक, डिलबहादुर बिक, टिकामान बिक, बाबुराम बिक, दीपक बिक र हिराबहादुर बिकको परिवार पहिरोका कारण विस्थापित भएका हुन् ।

पालुङ्टार नगरपालिका १० को बागडाडाँस्थित अधिकारीको घर पहिरिएको र धौओलाका छ घर विक परिवार पहिरोको जोखिमका कारण घर छाडेर आफन्तकहाँ आश्रय लिएका उपमेयर पम्फा बसेलले जानकारी दिइन् । घरसंगैको सडकको नालामा बगेको पानीको भेलका कारण पहिरो घरसम्मै पुगेकाले उनिहरु आफन्तकहाँ आश्रय लिएर बसेका हुन् ।
यस्तै, सिरानचोक गाउँपालिका ७ को तल्लो गोहोरेका सञ्जयबाबु ढकाल र वडा सदस्य पुर्णिमाया नेपालीको परिवार पनि पहिरोका कारण विस्थापित भएका डिएसपि नेपालले बताए । बस्दै आएको घर पहिरोको जोखिममा परेपछि ढकालको परिवार भुकम्पले भत्किएको पुरानो घरमा सरेका उनको भनाई छ ।

सिरानचोक गाउँपालिका ७ को तल्लो गोहोरे, माथिल्लो गोहोरे र डाडाँगाउँको दलित वस्तीमा पहिरो गएपछि स्थानीय चिन्तीत भएका छन् । स्थानीयका अनुसार अबिरल बर्षाले तल्लो गोहोरेकी रुक्मीणी ढकालको घर पहिरोको जोखिममा परेको छ । कर्सामा ठुला ढुंगा सहितको पहिरो झर्नुका साथै आगँन पनि पहिरोले लगेको श्रीनाथकोट स्वास्थ्य चौकी प्रमुख विश्वनाथ पाण्डेले जानकारी दिए । घरभित्र पहिरोको लेदो छिरेकाले सामानहरु काम नलाग्ने भएका उनको भनाई छ ।
छिमेकीहरुले कर्साको पहिरो पन्छाउने प्रयास गरेपनि फेरी पानी परेमा थप जोखिम रहेको उनले बताए । ‘घर अगाडी पनि पहिरोले तानेको छ’ उनले भने ‘पानी परेपछि फेरी तान्छ भनेर चिन्ता थपिएको छ ।’

बर्षासँगैको पहिरोले डाडाँगाउँको दलित वस्तीमा वडा सदस्य पुर्णिमाया सँगै ,सज्जन नेपाली, ठगबहादुर नेपाली, मनबहादुर गुरुङ लगायतका घर पनि जोखिममा रहेको स्थानीय बिनोद पाण्डेले जानकारी दिए । उनका अनुसार अर्कुलदेखि चिप्लेटी सम्मको सडकमा ठाउँ ठाउँमा पहिरो गएको छ ।

लगातारको बर्षापछिको पहिरोले इलाका प्रहरी कार्यालय जौवारीको पश्चिम तर्फ करीब २५ मिटर कम्पाउण्ड वाल भत्किएको छ । यस्तै, घ्याम्पेशाल प्रहरी चौकीबाट १५ मिटरको दुरीमा पनि पहिरो गएको डिएसपि नेपालले बताए । सडकका विभिन्न भागमा पहिरो खसेपछि अबरुद्ध बनेको बाह्रकिलो बारपाक सडक र ठाँटीपोखरी भच्चेक सडक सफा गरेर सञ्चालनमा आएको उनले जानकारी दिए ।

यसैबिच,मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा रहेकोले अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने भएको छ । बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले बुधबारदेखि मनसुन कम सक्रिय हुने भएकाले सतकर्ता अपनाउर्न मौसमविद् गंगा नगरकोटीले बताइन्।

प्रतिक्रिया दिनुहोस्