
गोरखा नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा
दरौंदी : गोरखा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गोरखा नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्तले पूर्ण खोप सुनिश्चितता घोषणा गरे ।
नगर क्षेत्रमा घरधुरीसर्वेक्षण गरेर १६ देखि २४ महिनासम्मका बालबालिकाले पुर्ण खोप पाएको आधारमा पूर्ण खोप सुनिश्चितता घोषणा गरेको उनले बताए । यसअघि जेठ महिनाभर १४ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो । गोरखा नगरपालिकालाई दुई बर्षअघि पूर्ण खोप पालिका घोषणा गरिएको थियो ।
त्यसपछि सबै बालबालिकाले ११ प्रकारका खोप पाएको आधारमा बर्षेनी पुर्ण खोप सुनिश्चितता गर्दै आईएको छ । नगर क्षेत्रमा हाल खोप पाइरहेका १५ महिना मुनिका बालबालिका आठ सय ६१ र खोपको मात्रा पूरा गरेका १६ देखि २४ महिनाका बालबालिकाको सख्यां छ सय ६७ रहेको स्वास्थ्य शाखा संयोजक निश्चल अर्यालले जानकारी दिए । पुर्ण खोप सुनिश्चिताका लागि मासिक रुपमा स्वास्थ्य संस्था र खोप क्लिनिकबाट नियमित रुपमा बालबालिकालाई खोप लगाउने कार्यक्रम जारी राखिएको उनको भनाई छ ।
मेयर राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर बिनाकुमारी श्रेष्ठ, स्वास्थ्य कार्यालय गोरखाका प्रमुख दिपक सुवेदी, स्वास्थ्यकर्मी रामशरण बानीया, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




