
यारुबगरका व्यवसायी धनकमललगायत सातजना सातदिनदेखि बेपत्ता
बुधबार रातीदेखि गायब भएका यारुबगरका व्यवसायी धनकमल गुरुङको अबस्था छदिनसम्म अज्ञात नै छ । व्यापक रुपमा प्रहरी परिचालन गर्दा पनि उनको अबस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल बताउँछन् ।
‘उनको खोजी गर्न माछाखोला, मान्बु, फिलिम, जगत, छेकम्पार, घ्याम्पेशालदेखिका प्रहरी परिचालन गरिएको छ’, एसपी रावल भन्छन्, ‘सातदिनभयो, उपलब्धी सुन्य नै छ ।’ उनीसंगै अन्य छ जना पनि हराइरहेको उनको भनाइ छ । ‘धनकमल र उनीमाथि आक्रमण गर्ने छ जना पनि फेला पार्न सकेका छैनौं ।’ ठूला डाँडाकाडा र बर्खाको बेलाको बुढीगण्डकीका कारण खोजतलास गर्न कठिन भएको उनको भनाइ छ ।
स्थानीयबासीले भने गाउँ आसपास नै हुनसक्ने आशंका गरेका छन् । ‘परिबारसंग बेलाबेला संपर्क हुन्छ भन्ने सुनिन्छ’, स्थानीय राकेश गुरुङ भन्छन्, ‘तर अरुसंग किन सम्पर्कबिहिन भइरहेका हुन्, रहस्यमय नै छ ।’
गत बुधबार राती १० बजे खच्चड धपाएर माछाखोलातर्फ जाँदैगर्दा उनी बाटोबाटै गायब भएका थिए । नौ जना अज्ञात व्यक्तिहरुले उनीमाथि आक्रमण गरेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।
आक्रमण गर्ने पनि भाग्ने र पीडित पनि भागेका कारण घटना दिनानुदिन रहस्यमय बन्दै गइरहेको प्रहरी बताउँछ ।
क्याप्सन ः धनकमल गुरुङ ।




