| आइतवार, कार्तिक २२, २०८३

न्वारनको भोजले गाउँले बिरामी

गोरखाको शहिद लखन गाउँपालिका ६ घैरुङको बतासेमा न्वारनको भोज खाएकाहरु बिरामी परेका छन् ।

सोमबार फुलमाया श्रेष्ठको घरमा न्वारनको भोज खाएका करीब ४० जना मंगलबार विहानबाट बिरामी पर्न थालेका गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हिजो विहान दुई चार जनामा झाडापखाला देखिएछ’ उनले भने, ‘बेलुकीबाट धेरै जनामा नै पेट दुख्ने, पखाला लाग्ने, ज्वरो आउने, ज्यान दुख्ने भएछ । महिला स्वास्थ्य स्वंयसेविकाबाट खबर पाएपछि हामीले बुधबार बिहानैबाट घरघरमै पुगेर उपचार गर्दैछौ ।’

न्वारनको भोज खानेहरु मात्रै बिरामी भएकाले फुड प्वाइजन हुन सक्ने आशंका गरिएको स्वास्थ्य शाखा संयोजक श्रेष्ठले बताए । ‘दुषित पानीले हो की भन्ने अनुमान गरेका थियौं’ उनले भने ‘ भोजमा मासु नभएकाहरु बिरामी भएका छैनन् । त्यसैले बोइलर कुखुराको मासुमा खराबी हुनसक्ने अनुमान गरेका छौं । बिरामीको घर घरमा पुगेर जाचँ गरी औषधि चलाएका छौं । अहिले अबस्था सामान्य छ ।’

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठको नेतृत्वमा घैरुङ स्वास्थ्य चौकीका ५ जनाको स्वास्थ्यकर्मीको टोली गाउँमा परिचालन भएको छ ।

स्थानीय बासीन्दा स्वास्थ्यप्रति आबश्यक सजग नभएकाले गाउँमा स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै शुद्ध र सफा खानेपानी उपलब्ध गराउने वातावरण बनाउने गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्