| आइतवार, कार्तिक २२, २०८३

गोरखामा क्यान्सर किलरको खेती सुरु

 

गोरखा : गोरखा नगरपालिका १४ गोर्बुङमा क्यान्सर किलर नामक जडिबुटीको व्यवसायिक खेती सुरु गरिएको छ । गोरखा अर्गानिक हर्वल फर्मले २५० रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको जडिबुटी फर्ममा क्यान्सर किलर(सावर सोप) नामको जडिबुटीको खेती गरेको हो ।

‘क्यान्सर किलरलाई सावर सोप पनि भनिन्छ’, फर्मका सञ्चालक खेमराज भट्टराईले भने, ‘त्यसको चारसय दाना बिउ ल्याएर रोपिएको छ । बिउलाई मात्र डेढ लाख रुपियाँ खर्च भएको छ ।’ मंसरीमा रोपेको क्यान्सर किलर विरुवा फागुनमा उम्रिएको छ ।

क्यान्सर किलर नामको वनस्पतिको पातबाट चिया बन्छ । फल सुपरफुड अन्तर्गत पर्ने खानेकुरा भएको सञ्चालक भट्टराई बताउँछन् । त्यस्तै यसको बिभिन्न भागबाट जुसलगायतका बिभिन्न खालका खाद्यपदार्थ बन्ने भट्टराईको भनाइ छ ।

क्यान्सर किलरको बिरुवा क्यारेबियन मुलुकबाट ल्याइएको भट्टराईले बताए । ‘यो खेती, नारायणी, मस्र्याङ्दी करिडोरमा धेरै फस्टाउन सक्छ भन्ने हामीले पत्ता लगायौं र सुरु गरेका हौं’, उनले भने, ‘क्यान्सर किलर नामक जडिबुटीमा रहेको बिभिन्न तत्वहरुले मानव शरीरमा क्यान्सर फैलाउने किटाणु नष्ट गर्ने हुनाले यसको नाम नै क्यान्सर किलर भनिएको हो ।’ यसको यूरोप, ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुकमा बढि प्रयोग हुने उनले बताए । नेपालका लागि भने यसको खेती नयाँ भएको उनको भनाइ छ ।

सातसय मिटर उचाइ रहेको समशितोष्ण हावापानी पाइने गोरखा नगरपालिका १४ गर्बुङ र ३५० मिटर उचाइको उष्ण हावापानी पाइने पालुङ्टार नगरपालिका ८ मा गरी २५० रोपनी क्षेत्रफलमा गोरखा अर्गानिक हर्बल फार्म सञ्चालन गरिएको हो । यहाँ क्यान्सर किलर(सावर सोप) लगायत ९० प्रकारका जडिबुटी खेती गरिएको छ ।

चार करोड रुपैंयाको लगानीमा यहाँ अर्गानिक हर्बल खेती गरिएको हो । गोरखा आयुर्वेद कम्पनीलगायत स्वदेशका अन्य आयुर्वेद कम्पनीका लागि आवश्यक कच्चा पदार्थ स्वदेशबाटै उपलब्ध गराउने लक्ष्यका साथ फर्म सञ्चालन गरिएको भट्टराई बताउँछन् । यहाँ २० जना भन्दा धेरै स्थानीयबासीले रोजगार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्