| सोमवार, कार्तिक २३, २०८३

गोरखाका ६१ जनाको ए प्लस, ३० जना सामुदायिक, ३१ बोर्डिङ स्कूलका, सरस्वती माविकी सीमा जिल्ला सर्वोत्कृष्ट

 

अनुपमा खनाल :

यो बर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा गोरखा जिल्लाका ६१ जनाले एप्लस ल्याएका छन् । परीक्षामा सहभागी चार हजार दुई सय ६४ जनामध्ये ३.६ देखि ४ जिपिए अर्थात् एप्लस ल्याउने विद्यार्थीको संख्या ६१ रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

६१ मध्ये ३० जना सामुदायिक र ३१ जना संस्थागत विद्यालयबाट सहभागी थिए । कुल परीक्षार्थीमध्ये १.४३ प्रतिशतले मात्रै ए प्लस ल्याएका हुन् । शहिद लखन, अजिरकोट, धार्चे, चुमुनब्री र बारपाक सुलिकोट गाउँपालिकाका ए प्लस ल्याउनेको संख्या सुन्य रहेको पाइएको छ ।

परीक्षामा ३.२ देखि ३.६ जिपिए अर्थात् ए ल्याउने परीक्षार्थीको संख्या दुई सय ८९ छ । यसमध्ये एक सय ७४ सामुदायिक र एक सय १५ विद्यार्थी संस्थागत विद्यालयबाट सहभागी थिए । २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या छ सय ४८ रहेको इकाईका अधिकृत सुवास आचार्यले जानकारी दिए । यसमध्ये पाँचसय १२ विद्यार्थी सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी थिए ।
२.० देखि ३.२ सम्म जिपिए ल्याउने विद्यार्थी करिव ७७ प्रतिशत अर्थात तीन चौथाइ बढि देखिएकाले मध्यम क्षमताका विद्यार्थी उत्पादनमा विद्यालय केन्द्रित रहेको पाईएको अधिकृत आचार्यले जानकारी दिए । उच्च क्षमताका विद्यार्थी उत्पादन गर्न विद्यार्थी, अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारहरूले गुणस्तर सुधारमा ध्यान केन्द्रित गर्नु पर्ने उनको भनाई छ ।
आचार्यका अनुसार एक हजार दुई सय ४७ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् । एक हजार तिनसय ८६ जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् । कुल परीक्षार्थीमध्ये ३२.५० प्रतिशतले यो जिपिए ल्याएका हुन् । परीक्षामा सहभागी पाचँ सय ५५ जनाले १.६ देखि २ जिपिए ल्याएका छन् । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ असार १५ गते र शिक्षा मन्त्रालयले २०७४ असार ५ गते गरेको निर्णयअनुसार न्यूनतम जीपीए १.६ निर्धारण गरिएको छ ।

सोही निर्णयका आधारमा ० देखि १.६ जिपिए ल्याएका जिल्लाका ५४ जनाले ११ कक्षा भर्ना हुन पाउँदैनन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार नियमित तर्फ सैद्धान्तिक विषयको बढीमा दुई विषयसम्म ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएमा परीक्षार्थीहरूले ग्रेडवृद्धिका लागि पूरक ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । इकाईका अनुसार यो बर्ष परीक्षामा २४ जना अनुपस्थित थिए ।

यसैबीच, गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्यालयकी छात्रा सीमा श्रेष्ठ एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट हुन सफल भएकी छिन् । ३.९५ जिपिए ल्याएर उनी जिल्लाकै उत्कृष्ट हुन सफल भएकी शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्