| आइतवार, कार्तिक २२, २०८३

गण्डकी गाँउपालिकाले ल्यायो ५१ करोडको बजेट,

चेपाङ समुदायमा एक घर एक चिउरीको बोटको नीति,

जिल्लाको गण्डकी गाउँपालिकाले आउँदो आर्थिक बर्षका लागि ५१ करोड ५८ लाख पाँचहजार रुपैंया बजेट प्रस्ताब गरेको छ । गाउँपालिकाका प्रमुख होमबहादुर रानाको अध्यक्षतामा मंगलबार सम्पन्न पाँचौ गाउँसभामा उपप्रमुख ललिता अधिकारीले सो आर्थिक बिधेयक प्रस्तुत गरेकी हुन् ।
साथै गाउँपालिका प्रमुख रानाले प्रस्तुत गरेको नीति कार्यक्रममा पर्यटन विकासलाई जोड दिइएको छ । घ्याल्चोकको बेनीगाउँ, दर्बुङको रानीस्वाँरा र ताङ्लीचोक को महादेवडाँडामा होमस्टे सञ्चालन गर्ने, दक्षिण एशियाकै ठूलो भनेर कहलाएको फुजेलको समीको रुखको संरक्षण गर्नेलगायत का कार्यक्रम सार्वजनिक गरिएको वडा नं. ७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।
साथै बजेट तथा कार्यक्रममा पूर्वाधारका १८ वटा योजना प्रस्ताब गरिएको छ । त्यस्तै तीनवटा स्वास्थ्य इकाइ निर्माण गर्ने प्रस्ताब पनि गरिएको उनले बताए ।
सो गाउँपालिकाभित्र अतिसिमान्त कृत चेपाङ समुदाय रहेको र उनीहरुका लागि महत्वपूर्ण मानिने चिउरीको रुखको संरक्षण गर्न एक घर एक चिउरीको रुखको अबधारणा नीति तथा कार्यक्रममा आएको रेग्मीले जानकारी दिए । त्यसका लागि खालि ठाउँमा चिउरी रोप्ने, चेपाङ संग्रहालय स्थापना गर्ने जस्ता कार्यक्रम प्रस्ताब गरिएको छ । प्रस्तावित नीति, कार्यक्रम तथा बजेटको बारेमा छलफल जारी रहेको वडा अध्यक्ष रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्