| सोमवार, कार्तिक २३, २०८३

गाउँपालिकाका सबै वडा सचिवविहीन

लमजुङ — दूधपोखरी गाउँपालिकाका सबै वडा कर्मचारीविहीन बनेका छन् । समायोजनमा दूधपोखरी कसैले नरोज्दा कर्मचारी अभाव भएको हो । १२ कर्मचारीको दरबन्दी रहेको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र एक जना नासुमात्रै भएपछि वडा २ का सचिवलाई ल्याएर राखिएको छ । दूधपोखरीमा ६ वटा वडा छन् ।प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल, नासु जनक अधिकारी र खरिदार खम्बबहादुर बोगटीले सिंगो गाउँपालिकाको प्रशासनिक कार्य सम्पादन गर्दै आएका छन् । नासु अधिकारी पनि जिल्ला समन्वय समितिमा पदस्थापन भइसकेको गाउँपालिकाले जनाएको छ । लेखापाल र सहलेखापाल छैनन् ।
‘लेखापाल नहुँदा समस्या भयो भनी महालेखा नियन्त्रकको कार्यालय, कोलेनिकामा भन्यौं । कसैबाट सुनुवाइ भएन,’ प्रमुख प्रशासकीय अधिकृत खनालले भने, ‘पहिले यहींबाट मालपोतमा सुरुवा भएका धनश्याम पोख्रेलले महिनामा एक पटक हेरिदिनुहुन्छ, त्यही पनि बेंसीसहरबाटै ।’ कम्प्युटर सहायक सबैलाई करारमा भर्ना गरिएको छ ।
वडा २ बाट गाउँपालिका कार्यालय ल्याइएका खरिदार बोगटी नहुँदा आफैं पञ्जिकाधिकारी भएर काम गर्नुपरेको खनालले सुनाए । ‘टाढा–टाढाबाट सेवाग्राही आउँछन् । हिँडेर आउँदा एक दिनै लाग्छ । बिहान ५ बजे काम सुरु गर्छु । राति १२ बजेसम्म गर्नुपरेको छ । कसले हेरिदिने ?’ उनले भने, ‘जिल्ला प्रशासन, कोलेनिका, प्रदेश, संघ सरकार, विषयगत कार्यालय सबैले रिपोर्ट माग्छन् ।

एक जना त रिपोर्टका लागि मात्रै खटिनुपर्छ, सेवाग्राहीको काम कहिले, कसले गरिदिने ?’ खरिदार बोगटीका अनुसार अहिले वडामा नीति तथा कार्यक्रमबारे छलफल चलिरहेको छ । बिहान ७ देखि राति ९ बजेसम्म कार्यालयमै बसेर खटिनुपरेको उनले बताए । ‘टाढा–टाढाबाट आएका सेवाग्राहीलाई भोलि आउनुस् भन्न सकिँदैन । स्टोरको काम समेत आफैंले हेर्नुपर्छ,’ उनले भने, ‘बिदाको दिनसमेत काम गर्नुपरेको छ ।’
विषयगत शाखा पनि रित्तै
गाउँपालिकाका शिक्षा, महिला तथा बालबालिका र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमजस्ता विषयगत शाखामा पनि कर्मचारी छैनन् । पशु शाखामा एक अधिकृत र एकजना जेटीए मात्रै छन् । कृषिमा एक जना जेटीए छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि एक जना अधिकृत संयोजक तोकिएर आए पनि उनी एक दिनमात्रै हाजिर गरेर गएपछि फर्केनन् ।

प्रतिक्रिया दिनुहोस्