| सोमवार, कार्तिक २३, २०८३

शिक्षक संगठनद्वारा गोरखा नगरपालिकाको शिक्षा शाखा घेराउ

 

नेकपा निकट शिक्षक संगठनले गोरखा नगरपालिकाको शिक्षा शाखा घेराउ गरेका छन् । नगर क्षेत्रमा शैक्षिक बेथिति नियन्त्रण नभएको भन्दै चरणबद्ध आन्दोलन गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त रुपमा नगरपालिकाको शिक्षा शाखा घेराउ गरेका हुन् ।

संगठनमा आबद्ध शिक्षकहरुले कार्यालयमा एक घन्टा धर्ना दिएका एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । गत २३ गते विभिन्न माग सहित गोरखा नगरपालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाए पनि कुनै सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको उनको भनाई छ । दुबै संगठनले नगर शिक्षा समिति समावेशी बनाउन, समितिमा सामुदायिक विद्यालयलाई अपनत्व हुनेगरी शिक्षकका बैधानिक पेशागत संगठनका प्रतिनिधिलाई सहभागी गराउन, विद्यालय ब्यबस्थापन समितिलाई पूर्ण र अधिकार सम्पन्न बनाउन, चाकडी र चाप्सुलीका आधारमा नभई शैक्षिक विकासमा पर्याप्त बजेट बिनियोजन गर्न, स्रोतब्यक्तिलाई विद्यालयमा फर्काउन, प्रधाना ध्यापक र शिक्षक नियुक्तिलाई कार्यकर्ता भर्ति केन्द्रका रुपमा नलिन माग गरेका छन् ।

साथै, कानुन विपरीत भएका शिक्षकको सरुवा फिर्ता गर्न, आस्थाका आधारमा शिक्षक नियुक्ती बन्द गरी जेठ महिनामा लिएको करार शिक्षकको परिक्षा रद्ध गरी पुन छनौट गर्न पनि दुबै संगठनले माग गरेका छन् । यी मागहरु सम्बोधन नभए असार १ गते दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्