
गोरखाका दुई गाउँपालिकामा पोषण र खाद्य सुरक्षा कार्यक्रम
गोरखाको वारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा पोषण र खाद्य सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ ।
संघीय सरकारले गोरखामा कार्यक्रम सञ्चालनका क्रममा ती स्थानीय तह छनौट गरेको हो । कृषि विकास मन्त्रालयले जिल्लाका दुई स्थानीय तहमा चालु आर्थिक वर्षबाट कार्यक्रम सुरु गर्न लागेको हो । कार्यक्रम कार्यान्वयनका लागि धादिङ समेत हेर्ने गरि गोरखा सदरमुकाममा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको कार्यालय स्थापना गरिएको छ ।
अहिले कार्यालय स्थापना र कार्यक्रम सञ्चालन हुने स्थानीय तहको वस्तुस्थिति अध्ययनको काम भैरहेको आयोजनाका कृषि अधिकृत लेखराज ढकालले बताए । कृषि विकास मन्त्रालय अन्तर्गत रहने आयोजना कार्यालयमा उपसचीवको नेतृत्वमा कर्मचारी परिचालन हुनेछन् । छनौट भएका दुई स्थानीय तहमा साना किसान र उनीहरुको परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने ढकालको भनाई छ ।

विशेष गरि वाली, पशुपंक्षीको उत्पादनमा बृद्धिसँगै पोषण सुधारका काम हुने उनले जानकारी दिए । ‘साना किसानहरुको समूह बनाएर काम गरिन्छ ।’ उनले भने ‘साना किसानका लागि कृषक पाठशाला, अनुदान वितरण लगायतका काम हुन्छ । उनका परिवारका बालबालिकालाई लक्षित गरि पोषण सुधारका काम पनि सँगसँगै गर्नेछौ ।’ भूकम्पपछि बालबालिकाहरुको पोषण सुरक्षा प्रभावित भएको आयोजनाले जनाएको छ । विश्व बैङ्कको आर्थिक सहयोग र राष्टूसंघीय खाद्य तथा कृषि संगठनको प्राविधिक समन्वयमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।




