
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता असारमा हुने
अनुपमा खनाल
बैशाख गर्ने भनेर स्थगित भएको जिल्ला स्तरीय राष्टूपति रनिङ शिल्ड प्रतियोगिता असारमा गर्ने तयारी भएको छ । असारको दोस्रो सातामा प्रतियोगिता गर्ने तयारी भएको जिल्ला खेलकुद विकास समिति गोरखाका उपाध्यक्ष शान्तसिँह बस्नेतले बताए । ‘असार १०÷११ मा गर्ने गरी केन्द्रले योजना बनाएको छ’, उनले भने, ‘हामीलाई पत्र आएपछि सोही अनुसार जिल्लामा प्रतियोगिता गर्छौ ।’ युवा तथा खेलकुद मन्त्रालयले प्रतियोगिताका लागि आवश्यक खर्च बेलैमा नपठाउँदा बैशाख ८ देखि १० गतेसम्म तय भएको जिल्ला स्तरीय प्रतियोगिता स्थगित भएको थियो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयले दुईलाख रुपैया छुट्याए पनि बजेट आउन ढिलाई भएको समितिले जनाएको छ । राष्टूपति रनिङ शिल्ड प्रतियोगिताकै लागि जिल्लाका ११ वटै स्थानीय तहले आफ्नो पालिका स्तरको प्रतियोगिता सकिसकेका छन् । स्थानीय तहले जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गरिसकेका छन् । स्थानीय तहस्तरीय प्रतियोगितामा पहिलो र दोस्रो भएका खेलाडी जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका ८ को सरस्वती माध्यमिक विद्यालयमा जिल्लास्तरीय राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता हुनेछ । खेलमा १८ बर्ष उमेर ननाघेका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो लगायतका खेलमा छात्र छात्राबिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । जिल्लास्तरीय खेलको सबै प्रतियोगितामा छ सय ७५ खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बस्नेतले जानकारी दिए । 




