
गोरखामा दुईबर्षयता तरकारी र खाद्यबालीमा विषादी प्रयोग घट्दै
अनुपमा खनाल
गोरखामा तरकारी र खाद्यबालीमा झोल र धुलो विषादीको प्रयोग घट्दै गएको पाईएको छ । अघिल्लो दुई आर्थिक बर्षको तथ्यांकका आधारमा झोल र धुलो विषादीको प्रयोग घटेको र जैविक विषादीको प्रयोग बढेको पाईएको छ । कृषि ज्ञान केन्द्र गोरखाका अनुसार आर्थिक बर्ष २०७३÷७४ मा बाली चुसेर खाने किरा मार्न मालाथिन, रोगर, नुभान लगायतका झोल विषादी २३ सय ८० लिटर प्रयोग भएको छ । अघिल्लो आर्थिक बर्ष १७ सय ९० लिटर झोल विषादी प्रयोग भएको थियो ।
यस्तै, कार्बनडाइजिम र कपर अक्सिड क्लोराईड नामक विषादी आर्थिक बर्ष २०७३÷७४ मा २१ सय ५० किलो धुलो, एक हजार किलो दाना र ११ सय ३० ट्यूव प्रयोग भएका छन् । यी बिषादी तरकारीमा जरा तथा फेद कुहिने, पात डढ्ने, फल कुहिने लगायतको रोकथामका लागि प्रयोग हुँदै आएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्ष दुई हजार ४० किलो यो खाले धुलो, नौ सय ८० किलो दाना र ११ सय ३० ट्यूप प्रयोग भएका छन् । यस्तै, आर्थिक बर्ष २०७३÷०७४ मा तीन सय १० लिटर प्रयोग भएको जैविक विषादी अघिल्लो आर्थिक बर्ष तीनसय ३० लिटर प्रयोग भएको पाईएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख दुर्गा प्रसाद पण्डितले जानकारी दिए ।
स्थानीय तहमा कार्यरत कृषि प्राविधिक र एग्रोभेटहरुबाट बिक्री भएका विषादीका आधारमा तथ्यांक तयार पारिएको उनको भनाई छ । छिटो उत्पादन लिन, बालीनालीमा लाग्ने किरा, सुलसुले, ढुसी, जुका मार्न र झार मार्नका लागि किसानले विषादी प्रयोग गर्दै आएका कार्यालयका प्रमुख पण्डितले बताए ।

‘झोल र धुलो विषादीको प्रयोग बार्षिक रुपमा घटेको छ । तर अहिलेपनि तरकारी र लहरेबालीमा विषादी प्रयोग हुन छाडेका छैनन्’, उनले भने, ‘धेरैजसो काउली, बन्दा, आलु, लहरे तरकारीमा बढि विषादी प्रयोग भएको छ । लसुन र प्याजमा कम प्रयोग छ । मुला र गाँजरमा भने प्रयोग गरेको त्यति पाएका छैनौं ।’
बाली सपार्ने बहानामा किसानले प्रयोग गरेका विभिन्न प्रकारका विषालु रासायनिक पदार्थले मानिस, पशुपंक्षी वा बोटविरुवाको सामान्य वृद्धि विकास अरु प्राकृतिक प्रक्रिया वा जीवनलाई नराम्रो असर गर्ने उनको भनाई छ । ‘विषादी प्रयोग गरेको खानेकुराले मानिसलाई दिर्घकालीन असर गर्छ’, उनले भने, ‘यस्तो खानेकुरा खाएपछि रिंगटा लाग्ने, टाउको दुख्ने समस्या हुन्छ । दम, नशा, पेट, मुटुसम्बन्धी समस्या, पक्षघात, क्यान्सर, महिलामा बाँझोपना, पुरुषमा नपुंसकता, दृष्टि कमजोर लगायतका स्वास्थ्य समस्या देखिन्छ ।’ ब्यक्तिदेखि वातावरणसम्म असर पु¥याउने रसायनिक विषादी प्रयोग कर्म गर्न जिल्लामा आइपिएम कृषक पाठशाला, तालिम गोष्ठी, प्राङ्गारिक मलमा अनुदान लगायतका कार्यक्रम सञ्चालन भैरहेको उनको भनाइ छ । किसानहरु पनि रसायनिक विषादीको असरमा सचेत भएका कारण प्रयोग घट्दै गएको कार्याmय प्रमुख पण्डितको तर्क छ ।
रसायनिक विषादीको प्रयोग गर्नै परे कृषि प्राविधिकको सल्लाह अनुसार सहि र सुरक्षित रुपमा विषादीको प्रयोग गर्न र सुरक्षा सतर्कता अपनाउन उनले आग्रह गरे ।

घर वरपरका बनस्पतिबाट जैविक विषादी बनाई बालीमा प्रयोग गर्न कार्यालयका प्रमुख पण्डितले आग्रह गरे । ‘हाम्रै ठाउँमा पाइने तितेपातीले पनि बजारमा किनेको रसायनिक विषादीले जस्तै काम गर्छ’, उनले भने, ‘एक किलो तितेपाती कुटेर एक लिटर पानीमा भिजाएर एक दिन छोड्दिनुहोस् । अर्को दिन त्यो झोल चार लिटर पानीमा मिसाएर छर्कनुहोस । बालीमा लागेको चुसेर खाने किरा मर्छ ।’ नीम, बकाइनो, तीतेपाती, लसुन, प्याज, खुर्सानी, खिर्रो, असुरो, पड्के, केतुकी, सयपत्री फुल लगायतका वनस्पति तथा झोल मल, गहुत र पानी, खरानी लगायतका अन्य प्रविधिबाट पनि जैविक मल बनाउन सकिने कृषि ज्ञानकेन्द्रले जनाएको छ । विषादीको असरबाट बच्न बजारमा पाइने फलफूल र तरकारी प्रयोग गर्नुअघि ख्याल गर्न उनले सुझाव दिएका छन् । ‘उपभोक्तालाई खानेकुरामा विषादी हालेको छ छैन थाहा हुँदैन’, उनले भने, ‘तरकारी फलफूल किनेर ल्याएपछि एक लिटर पानीमा एक चम्चा नुन हालेर त्यसमा फलफूल तरकारी आधा घन्टा डुबाइदिनुहोस, त्यसपछि मात्रै खानुहोस । यसो गर्दा त्यसमा भएको विषादीको असर कम हुन्छ ।’




