
गुपचुप सच्याइयो खरिद नियमावली
दरौंदी : सार्वजनिक खरिद नियमावली संशोधन गरेको २३ दिनमै सरकारले यसलाई गुपचुप रुपमा सच्याएको छ ।
मन्त्रिपरिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेका ठेकेदारलाई मूल्यांकन प्रक्रियाबाटै पन्छाउने प्रावधान हटाउने गरी नियमावली संसोधन गरेको स्रोतले बतायो ।
ठूला ठेक्कामा कब्जा गरी रहेका कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सन नियमावलीको छैटौं संसोधनपछि अघोषित रुपमा ‘निलम्बित’ बनेका थिए । बोलपत्र मूल्यांकनका क्रममा रहेका ठेक्कामा पनि उनीहरुको दावेदारी अन्त्य भएको थियो ।
अन्य ठेकेदारहरुले पनि नियमावली संसोधनको विरोध गर्दै आन्दोलन गरिरहेका थिए ।सरकारले नियमावलीमा सातौं संशोधन गर्दै ‘चाहँदा मात्रै उनीहरुलाई ठेक्का नदिन सक्ने’ व्यवस्था गरेको स्रोतले बतायो ।
अब यस्ता कम्पनी ठेक्का प्रक्रियामा सहभागी भएर सम्बन्धित निकायले नेपाल सरकारलाई लेखी त्यसको जानकारी गराउने र सरकारको निर्देशनअनुसार गर्नुपर्ने छ ।




