
नेकपा निकट शिक्षक संगठनले संघर्षका कार्यक्रम गर्ने
गोरखा नगरपालिकाले शिक्षकहरुमाथि विभेद पूर्ण ब्यवहार गरेको भन्दै नेकपा निकट जिल्लाका शिक्षक संगठनले संघर्षका कार्यक्रम गर्ने भएका छन् । एकिकृत नेपाल राष्टिूय शिक्षक संगठन र नेपाल राष्टिूय शिक्षक संगठनको संयुक्त आयोजनामा भएको नगर स्तरीय शिक्षक भेला तथा अन्तरक्रियाले संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको शिक्षक पुरुषोत्तम भट्टराईले जानकारी दिए । गोरखा नगरपालिकामा विभिन्न ८ बुँदे माग सहित बुझाएको ज्ञापन पत्रका सन्दर्भमा कुनैपनि सुनुवाई नभएपछि संघर्षका कार्यक्रम गर्ने निर्णय भएको उनको भनाई छ । संघर्षका कार्यक्रम आइतबार घोषणा गर्ने उनले जानकारी दिए ।
दुबै संगठनले नगर शिक्षा समिति समावेशी बनाउन, समितिमा सामुदायिक विद्यालयलाई अपनत्व हुनेगरी शिक्षकका बैधानिक पेशागत संगठनका प्रतिनिधीलाई सहभागी गराउन, विद्यालय ब्यबस्थापन समितिलाई पुर्ण र अधिकारसम्पन्न बनाउन, चाकडी र चाप्सुलीका आधारमा नभई शैक्षिक विकासमा पर्याप्त बजेट बिनियोजन गर्न, स्रोतब्यक्तिलाई विद्यालयमा फर्काउन, प्रधानाध्यापक र शिक्षक नियुक्तिलाई कार्यकर्ता भर्ति केन्द्रका रुपमा नलिन माग गरेका छन् । साथै , कानुन विपरीत भएका शिक्षकको सरुवा फिर्ता गर्न, आस्थाका आधारमा शिक्षक नियुक्ती बन्द गरी जेठ महिनामा लिएको करार शिक्षकको परिक्षा रद्ध गरी पुन छनौट गर्न पनि दुबै संगठनले माग गरेका छन् ।
एकिकृत नेपाल राष्टिूय शिक्षक संगठनका कार्यवाहक अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद हरिराज अधिकारी, नेकपाका केन्द्रीय सदस्य कृष्ण धिताल, नेताहरु बाबुराम थापा, विशेश्वर कट्टेल, यादव बस्नेत, नेपाल शिक्षक संगठनका कार्यवाहक अध्यक्ष शुस्कर ढकाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




