
धार्चे गाउँपालिकामा भेडा र बाख्राको स्रोतकेन्द्र स्थापना गर्ने तयारी
अनुपमा खनाल
गोरखाको धार्चे गाउँपालिकाले भेडा र बाख्राको स्रोतकेन्द्र स्थापना गर्ने तयारी गरेको छ ।
बाख्रा तथा भेडापालनको प्रशस्त सम्भावना रहेकोले स्रोतकेन्द्र स्थापनाको तयारी गरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख इन्द्रहरी खनालले जानकारी दिए । ‘यहाँको हावापानी र भुगोल उपयुक्त छ’ उनले भने ‘हामी अहिले स्रोतकेन्द्रका लागि योजना बनाउँदैछौ ।’ गाउँपालिकाभित्र चरन क्षेत्र प्रशस्त भएकाले सो क्षेत्रमा उन्नत जातको घाँसको खेती गर्ने तयारी भएको उनको भनाई छ ।
स्रोतकेन्द्र स्थापनाको तयारी अन्तरगत नै खर्क सुधार, गोठ ब्यबस्थापन, उन्नत जातका घाँस खेती, घाँस चरन र गोठ एकैठाउँमा निर्माण, पानीको ब्यबस्थापन लगायतका काम गर्नुपर्ने उनले जानकारी दिए । स्रोतकेन्द्र स्थापनाका लागि तयारी अन्तरगत नै गाउँपालिकाले किसानलाई उन्नत जातको बोका वितरण गरेको छ । नश्ल सुधारका लागि जमुनापारी र बोयर जातको बाख्रा वितरण गरिएको हो । एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले किसानलाई बोका वितरण गरे ।
स्थानिय बाख्रामा क्रस गराई उत्पादन वृद्धि गर्ने उदेश्यले प्रत्येक वडाका दुईजना ब्यबसायिक बाख्रापालक किसानलाई जमुनापारी र बोयर जातको एक ÷एक वटा बोका वितरण गरेको उनले बताए । यसबाट जन्मेका पाठापाठी ४ देखी ५ महिनामा बेच्न योग्य हुने पशु शाखा प्रमुख खनालले जानकारी दिए ।




