
जन्ती मारेको आरोपमा १३ जनालाई थुन्ने आदेश
जन्ती मारेको आरोपमा मुद्धा खेपिरहेका पालुङटार ४ कुमालटारका १६ जनामध्य १३ जनालाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायधीश रमेशकान्त अधिकारीको बुधबारको इजलासले अन्य तीनजनालाई जनही डेढ लाख रुपैंया धरौटीमा रिहा गर्ने आदेश दिएको श्रेस्तेदार विनोद अधि कारीले जानकारी दिए । इजलासले पालुङ्टार नगरपालिका ४ कुमालटारका मिलन कुमाल, रमेश गुरुङ, नारायण श्रेष्ठ, रेशम कुमाल, रामबहादुर कुमाल, सफल खवास मगर, जुना माया कुमाल, महेश कुमाल, प्रकास कुमाल, साहिँला भनिने पूर्ण तामाङ, सुशील कुमाल, प्रेमलाल कुमाल र सुमन कुमाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार अधिकारीले बताए ।
त्यस्तै प्रतिवादी मीना कुमाल, सिर्जना कुमाल र मंगली कुमाललाई जनही डेढलाख रुपैंया धरौटीमा रिहा गर्न आदेश भएको थियो । धरौटी रकम बुझाउन नसक्दा उनीहरु पनि थुनामा रहेका छन् । गत वैशाख १८ गते रागिनास नगरपालिका ४ का आशिष कुमालको जन्ती आएका विष्णुबहादुर कुमाललाई कुटपिट गरी मारेको अभियोगमा उनीहरुविरुद्ध अदालतमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेको थियो ।




