| आइतवार, कार्तिक २२, २०८३

नाम्जुङ रिपथोक सुरक्षित खानेपानीयुक्त गाउँ घोषित

गोरखाको शहीद लखन गाउँ पालिका वडा नम्वर ९ नामजुङको रिपथोकलाई सुरक्षित खानेपानीयुक्त गाउँ घोेषणा गरिएको छ । त्यहाँका ३३ घरधुरीमा वितरित पानी सबै हिसावले शुद्ध र सुरक्षित रहेको भन्दै यसप्रकारको घोषणा गरिएको हो ।

युनिसेफ र फिनल्याण्ड सरकारको सहयोगमा उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र कोस्डर गोरखाले सो गाउँमा खानेपानी योजना निर्माणमा सहयोग गरेको थियो ।

पानी उपलब्ध भएसँगै त्यसको शुद्धता परीक्षण गरी शतप्रतिशत सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको कोस्डरका कार्यक्रम संयोजक काजीराम रोकाले बताए ।

सो संस्थाले यसअघि आरुघाट गाउँपालिका आरुअर्वाङको भल्छोपे गाउँलाई जिल्लाकै पहिलो सुरक्षित खानेपानीयुक्त गाउँ घोषणा गरिसकिएको उनको भनाई छ । कोस्डरको समन्वयमा ३३ घर धुरीमा एक घर एक धारा निर्माण गरिएको थियो ।
दोस्रो चरणमा पानीको गुणस्तर जाँच, खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम दिइएको छ । उपभोक्ता समितिले हरेक महिना पानीको शुद्धता परीक्षण गर्ने रोकाको भनाई छ । कुनै कारणले पानी दुषित भएमा त्यसको शुद्धिकरणको विधिबारे पनि उपभोक्ता समितिलाई जानकारी गराइएको उनले जानकारी दिए । उपभोक्ता समितिको सिफारिसमा एकजनालाई प्लम्वर तालिम पनि दिइएको छ ।
खानेपानी योजानमा कुनै खराबी आए उपभोक्ताले नै मर्मत गर्न सक्नेछन् । ३० हजार रुपैयाभन्दा बढी रकमको मर्मत कार्यका लागि भने स्थानीय सरकार सहितका संस्थाले सहयोग गर्ने गरी उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । घोषणा कार्यक्रममा दातृ संस्था युनिसेफका खानेपानी तथा सरसफाई अधिकृत राजेश श्रेष्ठले भूकम्पका कारण जिल्लाका धेरै खानेपानी योजना संकटमा परेकाले त्यसको पुनर्निर्माणलाई प्राथमिकता दिइएको बताए ।

सँगसँगै उपलब्ध पानीको गुणस्तरबारे पनि समुदायसँग सहकार्य गरिएको उनको भनाई छ । नेपालमा बाल मृत्युदर बढ्नुको प्रमुख कारणमध्ये दुषित खानेपानी पनि भएकाले त्यसको शुद्धिकरणलाई प्राथमिकतामा राख्नुपरेको श्रेष्ठको भनाई छ ।
सोही कार्यक्रममा बोल्दै शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले पालिकाका कम्तिमा पाँचवटा खानेपानी आयोजानमा सुरक्षा योजना लागू गर्ने बताए । पालिकाभरको खानेपानी प्रणालीको अभिलेख अद्यावधिक गर्ने र बजेट बिनि योजनका क्रममा खानेपानीलाई उच्च प्राथमिकता दिने उनको भनाई छ ।

उपभोक्ता समितिकी अध्यक्ष गुञ्जमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका भूमिनन्द सिंखडा, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ, उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष श्यामबहादुर रम्तेलले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्