| सोमवार, कार्तिक २३, २०८३

गाउँपालिकाको तालिम छोडेर यार्सागुम्बा टिप्न लेकतिर

यार्सागुम्बा संकलन गर्न गाउँले सबै लेकतिर गएपछि चुमनुब्री गाउँपालिकाको फिलिममा सञ्चालित न्यायिक समिति तथा मेलमिलापकर्ताको तालिममा दुईवटा वडाका प्रतिनिधि सहभागी भएनन् । वडाअध्यक्षबाहेक कुनै पनि प्रतिनिधि तालिममा सहभागी नभएको गाउँपालिकाले जनाएको छ ।
चुमनुब्री गाउँपालिका १ सामागाउँ, साम्दो र वडा नं. ७ को छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, फुर्पे, पाङ्दुन, छुले र निले गाउँका बासिन्दा ढोका बन्द रहेर यार्सागुम्बा संकलन गर्न गएपछि गाउँपालिकाले आयोजना गरेको तालिममा उपस्थित हुन नसकेका वडाअध्यक्षहरुले बताए । चुमनुब्री ७ छेकम्पारका सबै बासिन्दा १५ दिनअघि नै यार्सागुम्बा संकलनका लागि गइसकेका छन् भने वडा नं. १ सामागाउँका बासिन्दा संकलनका लागि जाने तयारी गरेका वडा अध्यक्ष वीरबहादुर लामाले बताए । सबै जना लेकतिरै जाने भएपछि मेलमिलापकर्ता छनौट गर्न पनि नसकिएको र आठदिने तालिममा सहभागी हुने मान्छे पनि नपाइएको वडा अध्यक्षहरुले बताएका छन् । ती वडाहरुबाट वडाअध्यक्षहरु मात्र सहभागी भएको वडा सचिव वेदप्रकास ढकालले बताए । ‘वडा अध्यक्ष र तीनतीनजना मेलमिलापकर्ताहरु तालिममा सहभागी हुने भन्ने थियो, तर वडाअध्यक्षबाहेक कोही पनि आउनु भएन’, ढकालले भने, ‘गाउँले सबै यार्सागुम्बा टिप्न गएका छन् भन्ने सुनियो ।’

यार्सा
यार्सागुम्बाबाट बर्षदिनभरिलाई पुग्ने आयआर्जन हुने भएकाले बाध्य बनाएर तालिममा ल्याउन पनि नसकिएको वडा नं. १ का अध्यक्ष वीरबहादुर लामाले बताए । ‘यार्सागुम्बाबाट आएको पैसाले गाउँलेले बर्षदिन गुजारा चलाउँछन्’, लामाले भने, ‘त्यहाँ नजाओ भनेर कसरी भनुँ । सबै जना लेकतिर गएपछि मेलमिलापकर्ता गठन गर्न पनि सकिएन । तालिममा पनि एक्लै जानु पर्ने भएको छ ।’


सबै गाउँका करिब पाँचसय घरधुरीका करिब दुईहजार जना लेकतिर गएपछि गाउँ खालि भएकोे वडा अध्यक्ष पासाङ फुञ्जो लामाले बताए ।
‘यार्सागुम्बा टिप्न जान नसक्ने बुढाबुढी भएको घरमा चाहिँ उनीहरु घर कुरेर बसेका छन्’, लामाले भने, ‘अरु घरका मान्छेचाहिँ ढोका थुनेर गएका छन् । डेढमहिनासम्म लेकमै बस्छन् ।’ शान्ति सुरक्षाका लागि प्रहरी पनि गाउँलेसंगै गएको उनले बताए । छेकम्पार सीमा प्रहरी चौकीमा ६ जना कार्यरत छन् । जसमध्य तीनजना लेकतिर गएका हुन् ।
बालबच्चा समेत यार्सागुम्बा संकलन गर्न गएपछि छेकम्पारका विद्यालयहरु पनि बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्