| आइतवार, कार्तिक २२, २०८३

गोरखा यातायात र पृथ्वीराजमार्ग समिति अब कम्पनी माताहत

गोरखामा सञ्चालित दुई यातायात समिति कम्पनीमा दर्ता हुने भएका छन् ।

संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका यातायात ब्यबसायी समिति गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समिति कम्पनीमा दर्ता हुने भएका हुन् ।

कम्पनीमा दर्ता हुनका लागि तयारी भैरहेको दुबै समितिले जनाएका छन् ।

यस बिषयमा छलफलका लागि सोमबार ब्यबसायीको भेला आयोजना गरेको गोरखा यातायात ब्यबसायी समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ‘समितिले कम्पनी रिष्ट्रार्ड कार्यालयमा दर्ता गर्नका लागि कागजपत्र तयार गरेको छ’ उनले भने ‘सोमबार हुने ब्यबसायीको छलफलले निर्णय गरेर अनुमोदन गर्छौ अनि विधिवत रुपमा दर्ताका लागि जान्छौ ।’

यस्तै, पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पनि आबश्यक तयारी थालेको समितिको गोरखा कार्यालयका प्रमुख राजन ढुंगानाले जानकारी दिए ।

‘हामीले सबै ब्यबसायीसँग आबश्यक कागजात संकलन गरेर मुख्य कार्यालय पठाएका छौं’ उनले भने ‘मुख्य कार्यालयले नै थप प्रक्रिया चाल्छ ।’ गोरखा यातायात ब्यबसायी समितिमा दुई सय ७६ र पृथ्वी राजामार्ग बस ब्यबसायी समिति गोरखामा ७७ ब्यबसायी आबद्ध छन् ।
यसैबिच, नेपाल यातायात व्यवसायी राष्टिूय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ। महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो ।
महासङ्घले सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १(क) अनुसार कम्पनी दर्ता गर्न महासङ्घमा आवद्ध यातायात व्यवसायीलाई शेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ। महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए। ‘पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्