
गोरखाका निमा लामा संरक्षण एवार्ड २०१९ बाट सम्मानित
गोरखाका निमा लामा संरक्षण एवार्ड २०१९ बाट पुरस्कृत भएका छन् । डब्लुडब्लुएफको २६ औं बार्षिकोत्सवको अवसरमा छेकम्पारका लामालाई पुरस्कृत गरेको हो ।
राजधानीको होटल अन्नपूर्णमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत रेण्ड बेरी र डब्लुडब्लुएफका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङ(घ्यूर्मे)ले लामालाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गरेका सोनाम लामाले जानकारी दिए ।
चुम उपत्यकामा एकसयबर्षदेखि प्रचलित अहिंसा(स्याक्या) परम्पराको संरक्षण गरी वन्यजन्तुको संरक्षणमा उल्लेखनीय योगदान गरेको र चुमउपत्यकामा बीस बर्षदेखि बन्द रहेको निषेधित क्षेत्रको अन्त्य गरी पर्यटकका लागि खुला गराउन उल्लेखनीय योगदान दिएको भन्दै पुरस्कृत गरेको लामाले जानकारी दिए ।
कार्यक्रममा बनमन्त्री शक्तिबहादुर बस्नेत, राजदूत बेरी र डब्लुडब्लुएफका नेपाल प्रतिनिधि गुरुङले पुरस्कृत व्यक्तित्वको प्रसंसा गरेका थिए ।
चुमनुब्री गाउँपालिका ७ छेकम्पार निलेका निमा लामालाई यसबर्षको जनसेवाश्री पदकबाट पनि सम्मानित भएका थिए । ५५ बर्षका लामा साबिक छेकम्पार गाविसका पूर्व अध्यक्ष तथा साबिक जिल्ला विकास समितिका पूर्व सदस्य रहेर सामाजिक काम गरेका थिए । त्यस्तै २०६३ सालदेखि अहिलेसम्म चुमकल्याण समितिको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् ।
उनी स्यार समाज कल्याण केन्द्रको अध्यक्ष, हिमाली समुदाय जलवायु मैत्री संगठनका उपाध्यक्ष पनि हुन् भने कम्युनिटी एक्सन नेपाल(क्यान)का उपाध्यक्ष पनि हुन् । उनी प्रधानमन्त्री अध्यक्ष रहेको आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सञ्चालक परिषदका सदस्य र चुम स्याक्या संरक्षण समितिका संरक्षकको रुपमा रहेर काम गर्दै आएका छन् ।




