
पालुङ्टारमा कुहिने फोहर प्रशोधन गरी मल बनाइने
पालुङटार नगरपालिकाभित्र संकलित कुहिने फोहर प्रशोधन गरी मल बनाइने भएको छ ।
नगरपालिकासँगको सहकार्यमा छायाँ नेपाल नामको संस्थाले मल उत्पादन केन्द्र स्थापना गर्ने भएको हो ।

नगरपालिकासँग यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भैसकेको उपप्रमुख पम्फा बसेलले बताईन् । ‘छायाँ नेपालले कुहिने फोहरलाई २४ घण्टाभित्रै प्रशोधन गरी मल बनाउन सकिने मेशिन नगरपालिकालाई दिने भएको छ’ उनले भनिन् ‘नेपालमै पहिलो पटक भित्रिएको यो प्रविधिको प्रयोग कसरी गर्ने भन्नेबारे ६ महिनासम्म संस्थाले सहयोग गर्छ ।
त्यसपछि लिगलिग ग्रुप अफ इन्भेष्टमेन्ट प्रालिलाई प्रविधि हस्तान्तरण गर्ने सम्झौता भएको छ ।’
६ महिनापछि भने पालुङटारकै युवाहरुको सक्रियतामा स्थापित लिगलिग ग्रुप अफ इन्भेष्टमेन्ट प्रालिले फोहर संकलन र प्रशोधनको काम गर्ने प्रालिका ब्यवस्थापक किरण गिरीले जानकारी दिए ।

कुहिने फोहरलाई प्रशोधन गरि मल बनाउनका लागि जग्गाको खोजी भैसकेको उपप्रमुख बसेलले बताईन् । पालुङटारको वडा नम्वर ३ र ४ को सीमाक्षेत्रमा पर्ने गिद्धेखोलामा १५ रोपनी जग्गा ब्यवस्थापन गरिएको उनको भनाई छ ।
पहिलो चरणमा ठाँटीपोखरी वजार, बाह्रपिर्के, तुरतुरे बजारको फोहर संकलन गरि प्रशोधन गरिने बसेलले जानकारी दिईन् । तीनवटा वजारक्षेत्रबाट एक दिनमा करीव एक क्विन्टल कुहिने फोहर संकलन हुने अनुमान गरिएको उनको भनाई छ । उत्पादित मल पालुङटारकै किसानलाई बिक्री गर्ने लक्ष्य रहेको लिगलिग ग्रुप अफ इन्भेष्टमेन्ट प्रालिका ब्यवस्थापक गिरीले जानकारी दिए ।
किसानलाई तरकारी खेतीका लागि पनि प्रोत्साहित गर्ने नगरपालीका र प्रालिको लक्ष्य छ । नगरपालीकाले नकुहिने फोहरको पुनप्रयोगका लागि पनि कार्यक्रम सञ्चालन गर्ने उपप्रमुख बसेलले बताईन् । ‘नकुहिने फोहर अन्तर्गतका प्लाष्टिकजन्य सामग्रीको खेलौना वा अन्य घरायसी सामग्री निर्माण बारे तालिम सञ्चलन गर्ने योजना छ’ उनले भनिन् । कुहिने र नकुहिने दुवै खाले फोहरको पुनप्रयोगका लागि छायाँ नेपालसँग सहकार्य गर्न लागिएको पालुङटार नगरपालिकाले जनाएको छ ।




