| आइतवार, कार्तिक २२, २०८३

गोरखाको ११ वटै स्थानीय तहमा वैंक खुल्यो

अनुपमा खनाल :

गोरखाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । स्थानीय तहमा बैंक पु¥याउने सरकारी नीतिअनुसार जिल्लाको ११ वटै स्थानीय तहमा विभिन्न बैंकले शाखा स्थापना गरेका हुन् ।

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा मंगलबार सिभिल बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सबै स्थानीय तहमा बैंकको पहुँच पुगेको हो । त्यसअघि वैंक स्थापना हुन बाँकी गण्डकी गाउँपालिकाको केन्द्र भुम्लिचोकमा एक साताअघि मात्रै बैंक सञ्चालनमा आएको थियो ।
कृषि विकास बैंकले भुम्लिचोकमा शाखा स्थापना गरेर कारोबार सुरु गरेको हो । सबै स्थानीय तहमा वाणिज्य बैंक पु¥याउने सरकारको लक्ष्य अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जनता बैंक, सिरानचोक गाउँपालिकामा ग्लोबल आइ एम ई बैंक र चुमनुब्री गाउँपालिकामा कुमारी बैंक स्थापना भैसकेका छन् । जिल्लाका अरु नगरपालिका तथा गाउँपालिकामा भने देश संघीय सरंचनामा जानुअघि नै बैंकिङ सुविधा पुगिसकेको थियो ।


स्थानीय तहमै बैंक पुगेपछि उपभोक्ता समिति, व्यवसायी, शिक्षक, कर्मचारी तथा सर्वसाधारणलाई सुविधा पुग्ने धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । उनका अनुसार बैंकिङ कारोबारका लागि यसअघि आरुघाट तथा गोरखा बजार धाउनुपर्ने बाध्यता थियो । ‘अब हाम्रो दुर्गम गाउँमा बैंक आएको छ । सरकारी कारोबार, व्यक्तिको खाता यही बैंकबाट चलाउन सकिने भयो,’ उनले भने, ‘अब बैंक खोज्दै काम मारेर गोरखा बजार जाने बाध्यता हट्छ होला ।’ अब सामाजिक सुरक्षाभत्ता वितरणदेखि खाता सञ्चालन गर्न सजिलो हुने उनको भनाई छ ।


बैंक खुलेपछि स्थानीयबासिन्दामा बचत गर्ने बानीको पनि विकास हुने अपेक्षा गरिएको छ । तर जिल्लाकै विकट क्षेत्र समेटिएको चुमनुब्री गाउँपालिकामा स्थापना भएको बैकंबाट सरकारी कारोबार गर्न समस्या रहेको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले बताइन् । यातायात सुविधा नपुगेको सो क्षेत्रमा हेलिकोप्टर मार्फत बैंकले पैसा लैजाने गरेको छ । सुरक्षाको सुनिश्चितता नभएका कारण ठुलो रकम कारोबार गर्न अफ्ठेरो परेको बैंकलाई उद्धृत गर्दै उपाध्यक्ष गुरुङले जानकारी दिईन् । गाउँपालिकाहरुमा वैंक सञ्चालन भएपछि स्थानीय स्तरका सरकारी तथा गैरसरकारी कार्यालय, होटल व्यबसायी तथा अन्य व्यवसायीहरु लाई आर्थिक कारोबार गर्न सहज भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्