
बूढीगण्डकी आयोजनाको क्षमता घटाउने छलफल नभएको श्रेष्ठको दाबी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बूढीगण्डकी जलविद्युत आयोजनाको क्षमता घटाउने विषयमा पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।
आयोजनाको निर्माण छिटो हुनुपर्छ भन्ने पक्षमा नेकपा रहेको भन्दै उनले छिट्टै आयोजनाको मोडालिटीको टुंगो लाग्ने र निर्माण शुरु हुने दावी गरे । गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले १२ शय मेगावाटको आयोजनाको क्षमता घटाएर ८ शयमा झार्ने विषयमा कुनै जानकारी नभएको बताए । ‘बाहिरी हल्ला के छन् थाहा भएन’ उनले भने ‘पार्टीभित्र यस बिषयमा कुनैपनि छलफल भएको छैन । आयोजना छिटो बनाउनुपर्छ भनेर हामी लागिरहेका छौं ।’

प्रेस स्वतन्त्रताप्रति पार्टी पूर्ण प्रतिवद्ध रहेको उनले बताए । आफ्नै पार्टीको सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकप्रति पत्रकारहरुले आशंका गरिरहेका बेला श्रेष्ठले नेकपा स्वतन्त्र प्रेसको पक्षमा रहेको जानकारी दिए । ‘संसदमा पेश भएको विधेयकबारे पार्टीमा सामान्य छलफल भएको हो’ उनले भने ‘ त्यसबारे अब संसदले नै टुंगो लगाँउछ । संसदमा पुगेको विषयमा टिप्पणी नगरौं । नेकपा पूर्ण प्रेस स्वतन्त्रताका विषयमा प्रतिवद्ध छ ।’ प्रवक्ता श्रेष्ठले आगामी आर्थिक वर्षको वजेटले पार्टीको घोषणापत्र कार्यान्वयनलाई गति दिने बताए ।
पहिलो वर्षको वजेटले सम्बोधन गर्न नसकेका धेरै विषय आगामी वजेटमा समावेश हुने उनको दाबी छ ।

घोषणापत्रमा उल्लेख गरिएका ज्येष्ठ नागरिकको भत्ता रकम बृद्धि लगायत तत्कालै पूरा गर्न सकिने धेरैजसो योजना कार्यान्वयन हुने उनले जानकारी दिए । प्रवक्ता श्रेष्ठले वजेटमा प्रतिपक्षी दलको भावनाको समेत सम्बोधन हुने बताए । समाजवाद उन्मुख, समृद्धि लक्षित आगामी वजेटले उत्पादनमा बृद्धि र समावेशी उत्पादन विकास गर्ने उनको दावी छ ।




