| सोमवार, कार्तिक २३, २०८३

गोरखकाली क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समितिद्वारा पत्राचार

 

गोरखा नगरपालिका वडा नम्वर १० छेवेटारमा सञ्चालित एक क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समिति गोरखाले पत्राचार गरेको छ । ठाउँ सारीको अनुमति बिना चलाइएको र म्याद थप नगरी सञ्चालन भइ रहेकाले तत्काल बन्द गरी जान कारी पठाउन उद्योग सञ्चालक सुरेन्द्र कुँबरलाई कार्यालयले पत्राचार गरेको हो ।

कार्यालयले उक्त पत्र गण्डकी प्रदेशस्थित मुख्यमन्त्री, उद्योगमन्त्री, गोरखा नगरपालिका, जिल्ला प्रशासन, प्रहरी कार्यालय र अख्तियारमा समेत जानकारीका लागि बोधार्थ पठाइएको जनाएको छ ।


‘उद्योग स्थापना गोरखा नगरपालिका वडा नम्वर १३ मा गर्नुपर्नेमा विवरण ढाँटेर अर्कै ठाऊँमा चलाएको पाइयो’ वरिष्ठ उद्योग अधिकृत नवराज राउतले भने, ‘जुन ठेगानामा दर्ता भएको हो, त्यहीँ चलाउन भनेका छौं, नभए बन्द गर्न पत्राचार गरिएको छ ।’ कुँवरले गोरखा नगरपालिका (१३ (साविकको देउराली गाविस ८) का हरिमानसिंह बस्नेतको ५२९ कित्ता नम्बर दर्ता रहेको देउराली क्रसर उद्योग आफ्नो नाममा नामसारी गरेका थिए ।

तर कुँवरले बस्नेतको क्रसर नामसारी गर्ने क्रममा घरेलु तथा साना उद्योग विकास समितिको अभिलेखमा देउराली गाविस ८ अहिले गोरखा नगरपालिका(१० मा पर्छ भनी झूटो विवरण उल्लेख गर्न लगाएका वरिष्ठ उद्योग अधिकृत राउतले बताए । कुँबरले नाम सारीको अनुमति लिएर गोरखा नगरपालिका(१० छेवेटारमा ठाउँ सारेको पाइएको उद्योगले लेखेको पत्रमा उल्लेख छ । घरेलुको पत्रमा भनिएको छ, ‘उद्योगको फाइल अध्ययन तथा स्थलगत निरिक्षण र अनुगमन गर्दा उक्त क्रसर उद्योग नामसारी मात्रै भएको तर ठाउँसारीको कागजात नभएको देखिन्छ, उद्योगको यथार्थ ठेगाना जानकारी गराउँदा पनि अटेर गरेको देखिन्छ ।’ पत्रमा अगाडि भनिएको छ, ‘उक्त क्रसर उद्योग आवश्यक प्रक्रिया पु¥याई सार्नका लागि निर्देशन गरिन्छ ।’ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा क्षेत्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालयमार्फत अवैध रुपमा सञ्चालित उक्त उद्योग बन्द गराउन निर्देशन गरेको थियो ।

प्रशासनले बन्द गर्न पटक पटक ताकेता गर्दा पनि कुँवरले निर्वाध रुपमा उद्योग चलाउँदै आएका थिए । गोरखकाली क्रसर उद्योगका नाममा दर्ता भएपनि सो उद्योगलाई एक सडक परियोजनाको अस्थायी उद्योगका रुपमा सञ्चालन गरिएको थियो । सडक परियोजनाका काम सकिएपछि बन्द गर्नुपर्ने भएपनि उद्योग हाल पनि सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्